-माला कर्ण
हाम्रो देश संस्कृति र परम्पराको धनी देश हो । यहाँ विभिन्न समुदायको आफ्नै किसिमका संस्कृति र परम्परा छन् । त्यसमध्ये तराईका मधेशी र थारू महिलाले मनाउने जितिया पर्वको भन्ने बैग्लै महìव रहेको छ । यो पर्व मैथिल र थारू समुदायको साझा पर्वको रूपमा रहेको छ । यी दुई समुदायका महिलाले आफ्ना सन्तानको दीर्घायु तथा सुख–समृद्धिका लागि ३६ घण्टासम्म निराहार उपवास बस्ने गरेको छ । उपवासको क्रममा दाँतले एउटा सिन्कासमेत भाँच्न नमिल्ने गरी कठोर व्रतको रूपमा जितिया व्रत बस्ने गर्छन् ।
जितिया पर्वबारे विभिन्न किम्बदन्ती पाइन्छ । भविष्य पुराणमा वर्णन गरिएअनुसार प्राचीनकालमा शालिवाहन राजाको पुत्र जिमुतवाहनमाथि महादेवको असीम कृपा थियो । उनलाई महादेवको बरदान प्राप्त थियो । नियमनिष्ठाका साथ जो कोही व्रतमा बस्छन् उनको सन्तान दीर्घायु हुने बरदान पाएकाले महिलाले यो व्रत बस्ने गरेको बताइन्छ ।
धार्मिक ग्रन्थमा वर्णन गरिएअनुसार कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर एकदिन जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेकी थिइन् । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा भयो र दुईवटैले सल्लाह गरी व्रत बस्ने निधो गरे । सोही रात नर्मदा नदीको डिलमा तेलीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्त फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो त्यो कुरा चिलले हेरिरहेको थियो । पछि दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पूरावतीको रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको पटकपटक गरी सात छोरा जन्मिए पनि उनीहरूको जन्मने बित्तिकै मृत्यु भयो । यसको श्रेय पूर्व जन्ममा दुईवटैले गरेको जितिया पर्वलाई दिइयो ।
यस पर्वकोे मिथिलामा विशेष महìव छ । ठूलो दुर्घटना वा कुनै विपतबाट जोगिएपछि मिथिला क्षेत्रमा भन्ने गरिन्छ, ‘तोहर माय खर जितिया कैने छलौ तैं तुं बाँचि गेले’ (तिम्रो आमाले जितिया गरेकी हुनाले तिम्रो ज्यान जोगियो) । यो पर्व तराईका थारू समुदायले पनि अत्यन्तै निष्ठा र आस्थाका साथ मनाउँछन् । थारू समुदायमा जितियाको एक दिन अगावै माइतीबाट दाजुभाइ दिदीबहिनीलाई लिन आउँछ र माइतीमै गएर जितिया पर्व गरिने गरिन्छ ।
मैथिल र थारू समुदायका आमाहरू आ–आफ्ना सन्तानको सुख समृद्धि र दीर्घायुको कामनाका साथ निष्ठापूर्वक मनाइने जितिया पर्व यस वर्ष सोमबारबाट सुरु भएको छ । यस पर्वमा जिमुतवाहन देवताको पूजा गर्ने गरिएकाले यस पर्वलाई जितिया पर्व भन्ने गरिएको हो । यो पर्व तीन दिनसम्म मनाइन्छ । आश्विन कृष्ण अष्टमी तिथिका दिन मनाइने यस पर्वको अवसरमा पहिलो दिन सप्तमी तिथिका दिन नजिकको पोखरी वा तलाउमा स्नान गरी सोही ठाउँमा कुनै समुदायले झुगनी र कुनैले घिरौँलाको पातमा पिना र तेल राखी जिमुतवाहन र पीतृकोे पूजापाठ गरेपछि यो पर्व शुभारम्भ हुन्छ । यो पर्व चिल र स्यालको कथासँग जोडिएकाले पोखरीबाट पूजापाठ गरी घर फर्केपछि व्रतालुले स्याल र चिलको पूजा गरी प्रसाद चढाउने गर्छन् । त्यसपछि दोस्रो दिन आश्विन कृष्णअष्टमी तिथिदेखि व्रतमा बस्नुपर्ने हुन्छ । यस पर्वको अवधिभर थुक पनि निल्न नहुने व्रतलाई खण्डित पनि गर्न नपाइने र अति नियमनिष्ठाका साथ मनाउने भएकाले यसलाई सबैभन्दा कठोर व्रतका रूपमा लिने गरिन्छ ।
अरू पर्वमा चोखिने दिन माछा मासु लसुन प्याज खाइदैन तर यो एक मात्र यस्तो पर्व हो जसमा सप्तमी तिथि अर्थात् नहाखाईको दिन व्रतालु महिलाले कोदाको रोटी र माछा खानुपर्ने नियम रहेको छ । शाकाहारी र विधवा महिलाले त्यो दिन अरुवा अरुवाइन खाने गर्छन् । यो व्रतको एक प्रमुख विशेषताका रूपमा सप्तमीको राति ओटघन खाने चलन छ । ओटघन अर्थात् रातिको समयमा व्रतालु महिलाले भोजन गर्ने विधिलाई ओटघन भन्ने गरिन्छ तर यसपल्ट ओटघनको खाने साईत जुरेको छैन । सप्तमी तिथिका कारण यसवर्ष ओघटन खान मिल्दैन । ओटघन क्रममा खासगरी चिउरा दही केराका साथै मिठाइ खाने चलन छ । त्यो खाएर उठेपछि फेरि पानी वा केही खान पाइँदैन र व्रत शुभारम्भ भएको मानिन्छ । पितरपक्षको अवधिमा यो व्रत मनाउने गरिएकाले खासगरी मैथिल ब्राह्मणका व्रतालुले अनिवार्य रूपमा सप्तमी तिथिमा आ–आफ्ना दिवंगत सासू आमा र हजुरआमाको पूजा गरी प्रसाद चढाउने गर्छन् ।
कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् । व्रतालु घर फर्केर डालीमा नरिवल काँक्रो स्याउ केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । यसलाई डाली भर्ने विधि भनिन्छ । छोपिएको डालीबाट पर्व समापनको अवसरमा कपडा हटाउने गरिन्छ । हटाउने काम छोराले गर्छन् । दिउँसोतिर टोलभरिका महिलाले एकठाउँमा भेला भएर जिमुतवाहन देउता पर्व शुभारम्भ व्रतको महìवलगायतका विषयमा पण्डित वा कुनै एक महिलाले कथावाचन गर्छन् र सबैले कथा सुनेपछि घर फर्कन्छन् । त्यसपछि साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगो गाड्नुका साथै हाँगोमा माटोको चिलको आकृति बनाइन्छ र हाँगोमुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशले बनाइएको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर व्रतालु महिलाले पूजापाठ गर्छन् ।
सन्तान जति गल्ती र नराम्रो काम गरे पनि हरेक आमाले आफ्ना सन्तानको लागि कठोर भन्दा कठोर श्रम गर्न आमाहरू खुुसी साथ तयार हुनुहुन्छ । जितिया पर्वले यो महìवपूर्ण सन्देशसमेत दिन्छ । गोरखापत्रबाट