राजेश हमाल महानायक ? कसरी ?

0
599
राम लोहनी

नेपाली फिल्म उद्योगमा तुलनात्मक रूपमा बढी सङ्ख्यामा नायक भएर काम गरेका राजेश हमाललाई अमूक व्यक्तिले महानायक भनिदियो। कसैले “कसरी महानायक?” भनेर प्रश्न गर्न पनि नपाउने? यो कस्तो असहिष्णुता हो? राजेश “पढेलेखेका” छन्, “भद्र” छन् आदि टिप्पणीहरू सुनिन्छ। त्यो कसैको व्यक्तिगत गुण हुन सक्छ। तर फिल्म उद्योगमा महानायक भनेको कस्तो “उपाधी” हो? राजेशको केही फिल्म हेरेको छु। एउटा फिल्म हेर्न गोपीकृष्ण हलमा गएको राजेशको झुर अभिनयले यति निरुत्साहित गरायो कि हामी सपरिवार कसैलाई पनि मन परेन, मध्यान्तरमा निस्कियौँ । उनमा अभिनय क्षमता कति थियो भन्ने खास अर्थमा देखिएन । जुनसुकै भूमिकामा लामो कपालसहित उपस्थित हुनु आफैमा हास्यास्पद देखिन्थ्यो। तर हामीले त्यसैलाई महानायकत्व ठान्यौँ? भारतीय फिल्म उद्योगका चर्चित हस्तिहरू असी वर्ष पुग्दा पनि फिल्मी दुनियाँबाट हराएका छैनन्। फिल्मी उद्योग मात्र होइन, विभिन्न संघ संस्थामा निरन्तर उपस्थित देखिन्छन् र त उनीहरू एकल महानायकको पद्वीबाट विभुषित छैनन्।

यता नेपालमा केही फिल्ममा मोनोटोनस अभिनय गरेका र अहिले अभिनयबाट लगभग अस्ताइसकेका व्यक्ति कसरी महानायक हुन्छ ? नेपाली फिल्म उद्योगको विकासमा राजेशको स्थान महत्वपूर्ण छ भन्नुको अर्थ यो होइन कि यिनको स्थान सबभन्दा उच्च छ। अभिनयको कुरा गर्दा यिनको भन्दा अभिनय राम्रा भएका अरू पनि छन् । महानायक भन्नु उपयुक्त छैन भन्दैमा भन्नेप्रति श्लील, अश्लील अभिव्यक्तिले प्रहार गर्ने हाम्रो असहिष्णु प्रवृत्तिको कहिले उपचार होला? अमूक व्यक्तिको व्यक्तिगत जीवनको बारेमा टिप्पणी गर्ने हामीलाई राजेशकै हर्कतहरूप्रति वास्ता छैन । कुनै समय यिनी नाङ्गो फोटो काण्डमा मुछिएका थिए, विभिन्न युवतीहरूसँग नाम जोडेर हल्ला चल्यो, आफूभन्दा आधा उमेरकी युवतीसँग विवाह गरे । यी सब चाहिँ “व्यक्तिगत” हुने, अनि कसैको नितान्त आन्तरिक जीवनप्रति बढ्ता टिप्पणी गर्नु पर्ने ? मलाई लाग्छ यही कुरा दीपाले नभनेर अमूक पुरुषले भनेको भए टिप्पणी र गाली बेग्लै हुन्थ्यो। त्यो निश्चित छ।

राजेश हमाललाई महानायक भन्नु सही होइन भन्ने आशयको अभिव्यक्ति दिएर चर्चित बनेकी दीपा निरौलाले माफी मागेको, डिप्रिसनमा गएको र “जे पनि हुन सक्ने” भन्ने जस्ता पुष्ट, अपुष्ट समाचारहरूको लहर देख्दा वाक्क लाग्यो। दीपाले राजेशजीको बारेमा व्यक्त गरेको कुराको भिडियो क्लिप हेरेको थिएँ। यिनले भनेको कुरामा त्यस्तो आपत्तीजनक केही थिएन। उही आफू चुजी भएको र आफ्नो फिल्म चलेको जस्ता कुरा अलि भद्दा सुनिएको मात्र हो (किनभने यो पनि यथार्थ नजिक थिएन।) तर व्यापक “विरोध” भएपछि माफी मागिन् रे ! यसको भिडियो वा टेक्स्ट देखेको छैन। मान्छेको यही प्रवृत्ति मलाई हास्यास्पद लाग्छ। यदि आफूले सही भनेको भए माफी के कुराको? गलत भनेको भए, सही कुरा भन्न नजान्नेले किन भन्नु ? खासमा महत्व बिजनेसको हो, सत्य कुरा भाँडमा जाओस्! दर्शकहरू विभिन्डिए भनेर त्रासमा रहनेले बोल्नुअघि सोच्नु पर्थ्यो। यिनको अभिव्यक्तिमा राजेशप्रति अपमान थिएन, सम्मान नै थियो। तर भोलिको बिजनेसको अघि यिनको खुट्टा अडिन सकेन। प्रतिकार हुन्छ, विरोध हुन्छ भने पनि सही कुरा हो भने त्यसमा अडिन सक्नु पर्छ। आज उफ्रिने जमात भोलि सही बाटोमा आइहाल्छ।


दीपाको अभिव्यक्तिपछि तिनै (? वा अरू?) अन्तर्वार्ताकार राजेशकोमा पुगेछन्। मिडियालाई त मसला चाहिएको थियो। तर राजेशले आफ्नो कथित महानयाकत्व थेग्न सकेनन्। आफूले अमूक भिडियोमा सँगै नाचिदिएर दीपाको क्यारिअरमा चार चाँद लगाइदिएको अभिव्यक्ति दिएर राजेशले पनि हास्यास्पद काम गरे। उनले भद्रताका साथ आफूले प्रशस्त अवसर पाएको तर पर्याप्त गर्न नसकेको धारणा व्यक्त गरिदिएको दिएको यिनको भद्रता अझ चुलिन्थ्यो। मान्छे चुक्ने यस्तै बेलामा हो। आफूले अभिनयमा कुनै माइलस्टोन खडा गर्न नसकेको स्वीकार्न राजेशजीलाई के गारो परेको? कोही पनि त सर्वगुण सम्पन्न हुन्न। आफ्नो प्रतिक्रियामा राजेशले दीपाको प्रशंसा पनि गरिदिन सक्थे, तर गरेनन्। पहिला गरेनन्, तर पछिल्लो समय दीपालाई गरिएको गालीगलौजपछि विवादलाई मत्थर पार्न र आफ्ना “फ्यान” हरूलाई सम्हालिन अनुरोध गर्न सक्थे। तर गरेनन्। किनभने त्यसो गरेर आफ्नो गरिमा झन् बढ्छ भन्ने थाहै छैन।

(लोहनीको फेसबुक वालबाट साभार)

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here