२०८२ मंसिर १ गते, सोमबार ०७:०८

प्रसङ्ग नेपाल: अर्को एजेन्डा के ?

-भोजराज बराल
भारतीय दलाल, धोती आदि भनेर पहाडे मूलका जनताबाट हेपाइ खाँदै आएका मधेसी सांसद समेतले ऐक्यबद्धता जनाएर हिजो देशको नयाँ नक्शा बजारमा आएको छ भलै त्यसलाई सीमा जोडिएको देशले मानोस वा नमानोस त्यो भविष्य कै गर्भ मा छ ! म जस्ता एकादुईले यसलाई मुतकै न्यानो भने पनि बहुसंख्यक नेपालीले यसलाई ऐतिहासिक कदम ठानेका छन्, २ सय वर्ष बढी भारतले भोगचलन गर्दै आएको जमिन हाम्रो “नक्शा” मा राख्ने जस्तो बहादुरी भए पछि ल हिजो दिपावली पनि गरे होलान् भन्ने ठानेको छु !

यति भए पछि वार्ता गर्न पर्ने भए सरकारले प्रमाण जुटाएर गरिहाल्छ, सरिता गिरीले भने झैं सरकारले संसदमा नै ती प्रमाण सांसदलाई दिएका भए वा नागरिकका लागि संजालमा शेयर गरेका भए हुन्थ्यो तर प्रमाण नभएकाले वा जुटाउन नसकेर त्यसो गर्न सट्टा भेडालाई मन्त्र सुनाए झैं “कालापानी लिपुलेक हाम्रो हो !” भन्ने रटान वा rhetoric बाडेर नै नयाँ नक्शा बनाइयो, अब सरकारले नै भनेपछि नेपालीले नपत्याइ सुखै छैन, नत्र उसलाई सबैले देशद्रोहीको संज्ञा दिइहाल्छन ! विकसित देशमा भए प्रमाण हातमा नथम्याएसम्म आफ्नै पार्टीको सांसदले त्यसको पक्षमा भोट हाल्दैन तर हाम्रो देशको चेतना विकसित देशसंग के को तुलना गराइ भो र !

अब यो नक्शाको कुरा साम्य भयो, विप्लव ब्रो ले समेत सरकारको प्रशम्सा गरे पछि सक्की गो ! अब MCC तिर लाग्छन् होला सरकार र संसारका सबै भन्दा चेतनशील नेपाली जनता ! देशमा अरु काम केहि गर्न पर्दैन सरकारले, यस्तो ऐतिहासिक काम गरे पछि ! बरु अब कुन कुन नेताका कहाँ कहाँ शालिक बनाउने हो, तिनका नाममा कुन कुन अस्पताल र सडकका नाम राख्ने हो, कसरी जन्मदिन मनाउने हो आदि को अध्ययन गर्न सरकारले छिटै एउटा संसदीय कमिटी बनाउन पर्ला किनकि देश अब स्वत: सिङ्गापुर र स्विजर्ल्याण्ड बनी हाल्छ, विदेशमा तल्लो स्तरका काम गर्दै गरेका लाखौं जनता यही कोरोनाका बेला फर्काइदै छ, तिनलाई देशमा रोजगारीको समस्या हुने कुरै भएन ! देशमा पूर्वाधार टन्न छन्, पूर्वी तराईमा तेल खानी देखि मध्यम हिमालमा युरेनियम खानी छदैछ, सुदुर पश्चिमको यार्सागुम्बा अनि हिमालको स्वच्छ पानी मेलम्ची हुँदै घर घरमा आइसकेको छ, जनताका छोराछोरी कार्पेट ओच्छ्याएर पढेका छन्, कोरोना त के अन्य समयमा समेत कुनै जनतालाई स्वदेशमा उपचार गर्न नसके सरकारले सिङ्गापुर र अमेरिका पठाइ हाल्छ, सबै जनतालाई गास, बास, कपास, शिक्षा आदिको ग्यारेन्टी भएको पनि संविधान लेखे देखि नै हो, अहिले त ती बारे कुरा उठाउने मान्छे सरकार विरोधी ठहरिन्छ र मौका परे साइबर क्राइममा जेल जान्छ !

“सम्बृद्धी हाम्रै पालामा !” भन्दै थिए नेता हरु, यस्तो चौपट विकास हुन लाई पो रहेछ ! साला जिन्दगी, नेपालीहरुले अमेरिकी DV समेत भर्न छाड्ने गरि सोच्दै नसोचेको विकास देशमा हुँदा घाम ताप्न पनि गर्मी मौसम कुर्न पर्ने बेलायत बयलगाडा चढ्दै आएर बसाइँ सरेकोमा गल्ती गरिएछ कि जस्तो लाग्दैछ मलाई पनि, तपाईंलाई कस्तो लाग्दैछ कुन्नि ! जे जस्तै विकास र पारदर्शिता भए पनि ती उरन्ठेउला युवाले झैं शान्त भएर यस्तो महान सरकार विरुद्ध विरोध प्रदर्शन नगर्नु होला, दूरी राख्नु होला, शुभ दिन ! शुभ सप्ताहन्त !

बरालको फेसबुकवालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM