मुम्बई ।
बाबुले आफ्नी छोरीलाई विवाहमा खुसीका लागि केही न केही सामान वा पैसा दाइजोका रूपमा दिने गर्छन् ।तर के तपाईंले कहिल्यै एक बाबुले विवाहमा आफ्नी छोरीलाई विशालु सर्प उपहार दिन्छन् भन्ने सुन्नुभएको छ ? यो कुरा केही अनौठो पनि लाग्छ ।
तर भारतको मध्यप्रदेशमा बस्ने गौरिया समुदायमा विशालु सर्प उपहार दिने प्रचलन छ । यो समुदायमा यो परम्परा शताब्दियौंदेखि चल्दै आएको छ ।
यो समुदायमा मानिसहरूले छोरीलाई विवाहमा घरेलु उपभोगका लागि सामान र रूपैयाँको सट्टा २१ वटा सर्प दिन्छन् । यसरी दिइने सर्प अत्यन्तै विशालु हुने गर्छन् ।
गौरिया समुदायको यो अनौठो प्रथालाई लिएर केही मान्यतासमेत रहेका छन् । जसले आफ्नी छोरीलाई विवाहमा विशालु सर्प उपहार दिँदैन, उनकी छोरीको वैवाहिक सम्बन्ध चाँडै टुट्छ भन्ने मान्यता साे समुदायमा छ ।
अर्को मान्यता भनेको बाबुले छोरीलाई विशालु सर्प दिएमा ज्वाइँले तिनै सर्पका माध्यमबाट कमाइ गर्छन् र छोरीलाई पाल्न सक्छन् ।
यो समुदायका मानिसको मुख्य पेसा सर्पपालन हो र यस समुदायका मानिसले अन्य मानिसलाई सर्प देखाएर पैसा कमाउँछन् । यस कारण उनीहरू छोरीलाई दाइजोमा सर्प दिने गर्छन् ।
बाबुले छोरीको विवाह निश्चित भएपछि दाइजोमा दिने सर्प समात्न थाल्छन् । जसमा गहुंवा र डोमी नामका सर्प हुन्छन् । जसले एक पटक टोक्न पायो भने मान्छेको ज्यान नै जान्छ ।