-स्वयम्भुनाथ कार्की
आजको नेपालको शुरुवात काठमाण्डौमा गोरर्खालीहरुको विजयलाई मान्ने गरिन्छ । यसो हुँदा सन २००८मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनि नेपालको शुरु भएको वर्ष सन १७६९ बीच दुई सय अड्तीस वर्षको कालखण्ड हुन आउछ । यो कालखण्डमा राम्रा काम हुन नसकेको अनि भएका नराम्रा कामको जिम्मेवारी एकोहोरो रुपमा शाहवंशलाई दिनु आजकल केहीको रोजीरोटी भएको छ ।
यस कालखण्डमा राम्रा काम फिटिक्क नै भएनन् केही भएका भए पनि त्यो अरुले नै गरेको भनेर गरिने यस्ता प्रचारलाई राजा वीरेन्द्रको शासनकालदेखि पुर्नस्थापना भएको दरबार वरिपरीको प्रभावशालीहरुको पर्खालले मलजल गरेको छ । रणबहादुर शाहको पालादेखि बन्न शुरु भएको यो पर्खालले गर्दा नेपालको इतिहासमा हमेशा दाग लगाउने काम गर्यो । यसलाई राजा त्रिभुवनले केही भत्काउन खोजेका थिए अनि राजा महेन्द्रले करिव करिव ध्वस्त पारेका थिए ।
बडामहाराज पृथ्वीनारायण शाहले गोरखाको राजा भएको छब्बीस वर्ष पछिको लगातार कोशिस पछि काठमाण्डौ जिते । तर काठमाण्डौमा बस्न भन्दा नुवाकोटमा नै बस्न रुचाए । अर्को छ बर्ष काठमाण्डौमा राजसुख भोगेर बस्न भन्दा नेपालको विस्तार गर्ने योजना र कार्य गरेर नुवाकोटमा ब्यस्त हुँदैमा बित्यो । त्यस पछि उनको छोरा प्रताप सिंहले राज्यरोहणको दुई वर्ष मै कलिलै उमेरमा देहत्याग गरे । यस पछि नेपालमा शिशुराजाको परंपरा शुरु भयो । यो शिशुराजाको परम्पराले गर्दा राजाको वरिपरि भारदार, नातेदार, प्रभावशालीहरुको पर्खाल बन्यो । दुई वर्षका राजा रणबहादुर शाहको नायबीको दावीमा देवर भाउज्यूको कलह शुरु भयो । यो कलहले बहादूर शाह जस्ता वीर पुत्र तथा समर्थवान राजपुरुष नेपालले गुमाउन पुग्यो । यस पछिका दिनमा त नेपालमा गद्दिआसिन राजाका भन्दा रानीको हालीमुहाली चल्ने अनि त्यसबाट उत्पन्न विषम परिस्थितिबाट प्रभावशालीले तर मार्ने चलन त्रिभुवनको राज्यकालको उत्तराद्र्धसम्म कायम रह्यो ।
सन १७७७ मा दुईवर्षे रणबहादुर शाह गद्दिमा बसेको समयदेखि शुरु भएको राजा थपनाको युग राजा महेन्द्रले सन १९९० तिर करिव १८३ वर्ष पछि तोडे । यो समयमा १०४ वर्ष राणाहरुले एकलौटी पर्खालको भूमिका निर्वाह गरे पनि बाँकी ७९ वर्ष रानीहरु, विभिन्न भारदार, खलक र केही हिस्सा राजनीतिकर्मीहरुको भागमा पनि पर्न आउछ । तर यसको करिव सोह्र वर्ष अर्थात १९७६ तिर नै राजा वीरेन्द्रले फेरी राजा खोपीमा रानी सत्तामाको अवस्था शुरु गरे । देशवाशीहरुलाई इतर र भितरमा बाँड्ने काम शुरु भयो । महेन्द्रले भत्काएको राजा र जनता बीचको पर्खाल फेरी अझ मजबुत भएर आयो । चाटुकारले घेरिएको दरबारले आफूलाई माया तथा सम्मान गर्ने जनताको झल्कोसम्म देख्न पाएन भने जनताले त राजाको झल्कोसम्म नपाउने परिस्थिति पैदा भयो । यो परिस्थिति यत्तिसम्म खराव भयो कि झण्डै राजा त्रिभुवनको शाखा सन्तान नै समाप्त भएको थियो ।
यस अवस्थामा परिवार समाप्तीको पीडामा केहीले लगाएको लान्छना समेत थपेर राजा ज्ञानेन्द्र सत्तामा बसे । त्यसवेला सर्वसाधारणले सामाजिक जीवन शुरु गरिसकेका ज्ञानेन्द्रले त आफू र राजा बीचको पर्खाल छिचोल्लान् भन्ने आशा गरेका थिए । केही त्यस्ता लक्षण नदेखिएका पनि होईनन् । तर केही समय शिथिल भएर ढल्ला कि भने जस्तो भएको पर्खाल अझ मजवुत भएर आयो । पर्खाल पारीका जनताको ईच्छा चाहनाको गलत अर्थ लगाईयो र एक्कईसौं शताव्दीमा मध्ययुगको जनतामाथि संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरु सफल भए । जनतासँग प्रत्यक्ष सम्बन्ध नभएको समयमा शासकहरु कमजोर भएका हुन्छन्, पत्तै नपाई ज्ञानेन्द्र यहि अवस्थामा पुगे । यही कमजोर भएको मौकामा राजतन्त्रलाई नै पाखा लगाउन देशी विदेशी शक्ति केन्द्रहरु सफल भए । यो पाखा लगाईने क्रममा हाम्रो राजा प्राणभन्दा प्यारो छ भनेर ओठे भक्ति देखाउने चाटुकारहरु कि त दुला पसे कि विरोधमा नै लागे ।
यो कठिन समयमा साथ दिन त परै जाओस एक वचन सहानुभूतिको समेत निकाल्न उनीहरुले सकेनन् । रातारात गणतन्त्रवादी बन्ने वा दुला परेर लुक्ने होड चल्यो । यसरी यो पर्खाल आफ्नो स्थानबाट हट्यो । राजाले जनता र जनताले राजा प्रत्यक्ष देख्न पाए । राजतन्त्रलाई आफूले गलहती लगाउँदा समेत प्रतिकारको एक शब्द पनि सुन्न नपरेको शक्ति राजतन्त्र पाखा लागेपछि राजाको वरीपरि झुम्मिन पुगेका जनसमुह देखेर छक्क पर्यो । राजालाई धेरै ठाँउ जानमा रोक लगाईयो । घर मै नजरबन्द गरेर कुमारीको दर्शन गर्नबाट रोक लगाउन पनि यो शक्तिका दासहरु पछि परेनन् । तर यस्ता सबै प्रयत्नलाई जिल खुवाउँदै कुमारीहरु आफै राजाको वासस्थानमा दर्शन दिन पुगे । जत्ति सुकै कठिन परिस्थिति भएको भए पनि यो राजा र सर्वसाधारण बीचको पर्खाल ढलेको अवस्था हो । सर्वसाधारणको हौसलाले राजामा शक्ति संचार भएको समय हो यो ।
यो राजाको फेरी शक्ति प्राप्तीको लहर देखेर हिजो पाखा लागेका चाटुकारहरु राजाको वरिपरि फेरी पर्खाल तैयार गर्न उद्धत छन् । अवको अवस्थामा आफ्ना बुवाज्यू राजा महेन्द्रले प्राप्त गरेको ज्ञान अनुसार सर्वसाधारण जनतालाई शक्तिश्रोत मानेर पर्खाल निर्माण हुन नदिने कि आफ्ना राजेन्द्र, सुरेन्द्र जस्ता पूर्खाको अनुशरण गरेर फेरी पर्खालको घेरा भित्र नै रमाउने भन्ने निर्णय गर्ने जिम्मेवारी राजा ज्ञानेन्द्र कै हो । फेरी पर्खाल भित्र नै रहने हो भने सर्वसाधारणबाट प्राप्त हुने शक्ति फेरी छेकिने छ । राजतन्त्र चाहने जनताहरुको पहिलो रोजाई ज्ञानेन्द्र नै हुन तर विकल्प नभएको पक्कै हैन ।
विराटनगर १
२४ पुस २०७६ को क्राइम चेक साप्ताहिकमा प्रकाशित