– स्वर्ण विक्रम शाह
“कुनै देशको अस्तित्व समाप्त पार्नु छ भने सबै भन्दा पहिले त्यो देशको धर्म, संस्कृति, भाषा, भेष र मौलिक परम्परा समाप्त गर्नु पर्दछ” र यो कुनै पनि राष्ट्र ध्वस्त बनाउने सबै भन्दा सरल तरिका हो । आज हाम्रो मुलुक पनि यसै बाटोमा छ र यसलाई सो बाटोमा डोर्याउने हाम्रै नेताहरु हुन् जो साम्राज्यवादीहरुबाट सञ्चालित छन् । यसको उदाहरण भनेकै देशको राजनैतिक अस्थिरता हो जसको कारण या मूलजड आज यिनै साम्राज्यवादीहरुको सुनियोजित षड्यन्त्रण हो भन्ने हामी सामु छर्लग्ङ छ ।
“देश भनेको चारैतिर रेखांकन गरिएको भूभाग मात्र हो भनेर बुझेमा यो हाम्रो एकाङ्की ज्ञान हुन आउँछ । देश या राष्ट्र भनेको त हाम्रो धर्म, संस्कृति, सभ्यता, भेषभाषा, ईतिहास, हाम्रा पुर्खाहरुको देन, हाम्रो पहिचान, हाम्रो अस्तित्व आदि ईत्यादिको धरोहरलाई विभिन्न कालखण्डमा परि आएको आपत बिपतबाट सुरक्षित राखी हरेक परिस्थितिको सामना गर्दै त्यसलाई सुरक्षित राखि आएको हाम्रो जन्मभूमी, कर्मभूमी हो । आज यसैलाई मेटाउन हाम्रा नेता ज्यूहरु विदेशीहरुको हातमा भएको रिमोटको रोबट भएका छन् ।
स्वतन्त्र स्वाधीन देशको आफ्नै मौलिक धर्म, भाषा, भेष, संस्कृति र परमपरा पनि हुन्छ । त्यसमा पनि हाम्रो जस्तो १७ औं जेष्ठ देश नेपालको विशेषता त झन महत्वको हुनु स्वभाविक नै हो । यस्तो संवेदनशील विषयको संरक्षणबाट नै देशको फरक अस्तित्व भएका विविध सम्प्रदायको पहिचानका साथै देश पनि जोगिन्छ । उसलाई खाने बाघले मलाइ पनि खान्छ समाजमा एक अर्काको अस्तित्व खोज्न एक अर्काको सहयोगी हुनु पर्छ बाहिरियालाई गुहार्नु हुन्न “आयातित पद्धति शिक्षा भाषा नीतिले देशलाई अगाडी बढ्न दिंदैन । सम्बन्धित देशको सामाजिक आर्थिक र मानसिकता अनुरुपको विधि र पद्धति आफ्नै हुनु पर्छ न कि विदेशीले जबर्जस्ती थोपरी दिएको ।
आज नेपाल आमाको माटो मृत्यु शैयामा बसेर मरु कि बाँचु भनेर बसेको अवस्था हामी अहिले सजिलै महसुस गर्न सक्छौ । नेपाल आमाको माटो मर्नु भनेको हामी सबै नेपालीहरुको अस्थित्व मेटिएर जिउँदो लास सरह हुनु हो र कुनै पनि देशले एक पटक आफ्नो अस्तित्व गुमायो भने करोडौको बलिदानले पनि त्यसको क्षतिपूर्ति हुन सक्दैन । त्यसैले कुनै पनि पार्टी, राजनीतिज्ञ वा राष्ट्रसेवकहरुको कमजोरी वा मूर्खतालाई माफ गर्न सकिएला तर उनीहरुको राष्ट्रप्रतिको बेइमानी वा गद्दारीलाई माफ गर्न सकिदैन ।
यस्ता गद्दारहरुलाई कठोर भन्दा कठोर दण्ड दिन पर्दछ । हाम्रा वीर गोर्खाली सहिदहरूले आफ्नो रगत बगाई ज्यानको समेत बलिदान दिएर बचाएको नेपाल आमाको माटो आज कति अतिक्रमण भएको छ ? अझ पनि के हामी लाटोले केरा हेरेर बसे जस्तै भएर बस्ने ? के हाम्रो शरीरमा ती वीर महान सहिदहरुको एक थोपा रगत पनि छैन ? के हाम्रो रगत सेलाई सक्यो ? आफ्नो अन्तर आत्मालाई एक चोटी टटोलेर हेर्नु पर्ने बेला आएको छ ।
संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्थामा राष्ट्रको अस्तित्व संकटमा परेको थिएन । देशलाई स्वाधीन बनाउँछौ भनेर यिनै साम्राज्यवादीले नेपाली जनतालाई आपसमै लडाउन हाम्रा कथित क्रान्तिकारीहरु भनिएका नेताहरुलाई किनेर आफुखुशी यहाँ प्रयोग गरे । अव देशलाई कसले रक्षा गर्न सक्छ ? तिनीहरुको अग्रगमन भनेको देश मार्नु हो ? खुल्लम खुल्ला बिदेशीको दलाल भएर नेपाली जनताकाबीच लाजै नमानी हिंड्नु हो ? जनतालाई मुर्ख बनाएर आफनो निहित स्वार्थपुर्ति मात्र गर्नु हो ? को लेन्डुप दोर्जे बन्ने भन्ने होडवाजी मात्र हो ? दलका नेता र तिनका कार्यकर्ता सँग राजनीति प्रति नैतिकता र जनता प्रति इमान्दारिता छ भने भन्न सक्नु पर्दछ । राजसंस्था हटाउँदा देश स्वर्ग किन बनेन ? राष्ट्र र जनताको प्रगतिको बाधक राजसंस्था हो भनेर प्रमाणित गर्न किन सकिएन ? राजसंस्थालाई दोष दिएर देशलाई जुवा खेल्न मिल्छ ? जनताको भविष्य बर्वाद गर्न मिल्छ ? उचित र आम जनतालाई स्वीकार्य हुने समाधानको बाटो खोज्न पर्दैन ?
मेरो या सारा सच्चा नेपालीको लक्ष्य भनेकै समृद्ध नेपाल र सुखी नेपाली हो । देश र जनतालाई माया गर्ने मान्छे एक भएर अघी बढून् भन्ने मेरो सोच हो । एकले अर्कोंलाई बुझेर एकले अर्कोंलाई साथमा साथ र हातमा हात दिएर एकजुट हुनु पर्छ भन्ने मेरो धारणा हो, तर यहाँ त एकले अर्कोंलाई लडाउने, एकले अर्कोंलाई निषेध गर्ने, दुश्मन बन्ने, यो आयो भने त मेरो भात जागिर खाई दिन्छ कि भनेर देश र जनताको लागी केहि गर्छु भन्ने मान्छेलाई सम्म दुश्मनको नजरले हेरेको देखिन्छ । अहिले त यहाँ सम्म कि नेताहरूले गरेको जे कुरालाई पनि हो हो, ठीक छ भनेमात्र राम्रो बनिने उनीहरूको नजरमा, दिसालाई पनि खिर हो भन्नु पर्ने, पिसाबलाई पनि अमृत हो भन्दिंदा मात्र खुशी हुने रे । गलतलाई यो गलत हो है भन्दा दुश्मन भैई हाल्ले रहेछ । देश अनि बिदेशमा बस्ने सर्वसाधारण नागरिकलाई देश र जनता प्रति धेरै माया भएको पाएको छु, तर देश र जनतालाई राम्रो गर्छु भनेर हिंडेका चाहे नेता, चाहे समाजसेवी, चाहे पत्रकार, मै हुँ भनिएर चिनिएका कसैको पनि देश र जनता प्रति माया देखिन । बाहिर देखाउने एउटा नाटक मात्र हो रहेछ । आफु र आफ्नो परिवार मात्र हेर्ने, म नै सबै भन्दा ठूलो जान्ने र वुद्धिजिबी भन्ने घमण्ड गर्ने, अनि तालि र माला खोज्ने प्रवृति मात्र देखियो । जबसम्म आफू भित्रको यस्तो घमण्ड तोडिदैन, तब सम्म देशमा केहि हुदैन, लेखेर राख्नु होस् ।
क्राइम चेक साप्ताहिकमा २०७६ पुस २४ गते प्रकाशित