चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ पुस/ सशस्त्र प्रहरी बलले अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा मरिच र छोकडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सिया, पर्साका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले दिनु भएको जानकारी अनुसार भन्सार राजश्व छली खुल्ला नाकाको प्रयोग गरी भारत तर्फ अवैध रुपमा निकासी गर्न लागिएको अवस्थामा वीरगंजको भकुवा घाटबाट गएराती ५ क्वीन्टल छोकडा बरामद गरिएको छ भने ठाकुर राम क्याम्पसको पछाडीको बाटो भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिहीबार २० किलो मरिच बरामद गरिएको छ ।
भन्सार राजश्व चुहावट गर्ने गिरोहहरू पर्साको सीमावर्ती नाकाबाट अवैध रुपमा तस्करीका सामानहरू नेपाल–भारत लैजाने ल्याउने कामले तीव्रता पाएको सूचनाहरू आएपछि सोको नियन्त्रणकालागि आफूहरूले गस्ती र निगरानी कडा पारेको सशस्त्र प्रहरी निरीक्षक पौडेलले बताए ।
बरामद गरिएका मरिच र छोकडा आवश्यक कारवाहीकालागि वीरगंज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी निरीक्षक पौडेलले बताए । बरामद गरिएका उक्त परिमाणको छोकडा र मरिचको बजार मूल्य ९८ हजार रहेको बताईन्छ ।
















