राजा महेन्द्रको शालिकमा पुष्पार्पण गर्न तछाड मछाड

0

सन्तोष मिश्र/
काठमाण्डौ, १ पौष/
काठमाण्डौको दरबारमार्ग स्थित राजा महेन्द्रको शालिकमा पुष्पार्पण र माल्यार्पण गर्न तछाड मछाड भएको छ ।

२०१७ सालमा शासनसत्ता कब्जामा लिई नेपाललाई विदेशीको उपनिवेश बन्नबाट जोगाई समृद्ध नेपालको जग बसालेका तत्कालीन राजा स्व. श्री ५ महेन्द्र वीर विक्रम शाहको सम्झनामा प्रत्येक वर्ष पुस १ गतेका दिन देशको अखण्डता र राष्ट्रिय स्वाधीनता तथा आत्मनिर्भरताका पक्षधर स्वतन्त्र नागरिकहरूले स्व. राजा महेन्द्रको सम्झनामा महेन्द्र स्मृति दिवसका रुपमा मनाउँदै आएका छन् ।

सोही क्रममा मंगलवार आयोजित स्व. राजा महेन्द्रको चीर स्मृतिसभामा सहभागी हजारौं संख्यका राष्ट्रवादी नागरिकहरूले राजा महेन्द्रको शालिकमा श्रद्धासुमनसहितको माल्यार्पण र पुष्पार्पण गर्न तछाड मछाड गरिरहेको दृश्यले एकपल्ट फेरी पनि महेन्द्रकै जस्तो शासक जन्मिनुपर्ने आभाष दिलाइरहेको थियो ।

सो कार्यक्रममा डा. रत्न कमल वैद्य, प्रा. पेशल निरौला, इतिहासविद दीर्घराज प्रसाई, मणिराज सत्याल, बिक्रम बम, किशोरी महतो, अग्नी शमशेर, पद्मभक्त खरेल, भुवन श्रेष्ठ, बिक्रम झा, लक्ष्मी अधिकारी, शरद चन्द्र दाहाल लगायत विभिन्न राष्ट्रवादी संघसंस्थामा आवद्ध व्यक्तित्वहरूले तत्कालिन समयमा राजा महेन्द्रले देशको लागि गरेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले तत्कालिन अवस्थामा राजा महेन्द्रबाट देश र जनताको हित, सार्वभौमिकताको रक्षा, आत्मनिर्भरता र स्वाभिमानी नेपालीको पहिचान कायम राख्न शासनसत्ता आफ्नो हातमा नलिएको वर्तमान अवस्थामा हामी नेपाली नेपाली भई बाँच्ने अवस्था समेत नरहने दाबी गरेका थिए ।

तस्वीरः शिशिर तिवारी

कार्यक्रमका वक्ताहरूले वर्तमान शासन व्यवस्थाका संचालकहरू देशप्रति नभई विदेशप्रति वफादार भई राजा महेन्द्रले खडा गरेका आत्मनिर्भरता र स्वाभिमानका जग भत्काएर देशलाई पतनको बाटोतिर लगेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

तस्वीरः शिशिर तिवारी

देशको शिक्षा नीति, अर्थनीति, कृषि, परराष्ट्रनीति, धर्म, संस्कृति, आत्मनिर्भरता लगायत सम्पूर्ण क्षेत्रमा देशलाई भन्दा विदेशलाई फाइदा पुग्ने काम वर्तमान शासन व्यवस्थाका संचालक दलहरूबाट हुँदै आइरहेको हुँदा यसले देशको अस्तित्व नै संकटमा परेको दाबी गर्दै देश रक्षाका निम्ति वर्तमान व्यवस्था विरुद्ध सम्पूर्ण नेपाली नागरिक एकजुट हुनुपर्नेमा वक्ताहरूको जोड थियो ।

तस्वीरः शिशिर तिवारी

कार्यक्रममा राष्ट्रिय सरोकार मंचका केन्द्रि अध्यक्ष सोम विक्रम सिंह, राष्ट्रवादी अभियन्ता एवं विश्लेषक श्याम केसी, मणिराज सत्याल, शिशिर तिवारी, राजकुमार थापा, सुचित्रा घिमिरे, अप्सरा थापा, लता वैद्य, नानीराम लामिछाने, सुवाष गिरी, राधेश्या थापालगायत विभिन्न संघसंस्था, पेशामा आवद्ध पदाधिकारी, स्वतन्त्र नागरिक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

उता वीरगंजमा पनि नेपाल राष्ट्रवाद संघ केन्द्रिय समिति एवं जिल्ला कार्यसमितिले महेन्द्र स्मृति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको समाचार जानकारीमा आएको छ ।

संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा सहभागिहरूले स्व. राजा महेन्द्रको शालिकमा पुष्प माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्र रक्षाको जग बसाल्न राजा महेन्द्रले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्