इन्द्रजात्रा

0

-डा. उत्तम उपाध्याय न्यौपाने

सिङ्गारिएको लिङ्गोलाई ठड्याएर मनाइने जात्रा नै इन्द्रजात्रा हो। यो जात्रा भाद्र शुक्ल द्वादशीका दिन मनाइन्छ। इन्द्रजात्रामा ठड्याइने लिङ्गो इन्द्रजात्रा सुरु हुनुभन्दा ७ दिनअघि नै काभ्रे जिल्लाको सल्लाघारीबाट काटेर ल्याइन्छ। उक्त लिङ्गो ६३ फुट वा ४८ फुट वा ३३ फुट अग्लो र सोझो हुनुपर्ने प्रावधान रहेको छ। लिङ्गो काट्नुपूर्व पशुबलि दिने चलन पनि रहेको छ।

काटिएको लिङ्गोलाई पहिलो दिन भक्तपुरको ठिमीमा र त्यसपछि भोटाहिटीमा एक-एक दिन राखेपछि द्वादशीका दिन हनुमानढोका पुऱ्याइन्छ। त्यहाँ लिङ्गोलाई रातो कपडाले मोहोरिन्छ र घण्ट, चमर, पङ्खा, बेलपत्र, फूलले सिङ्गारेर होस्टेमा हैँसे गर्दै मङ्गल ध्वनिका साथ हर्षबढाइँ गरी विधिपूर्वक लिङ्गो ठड्याइन्छ र जात्राको थालनी हुन्छ।

लिङ्गोको फेदमा सुनको जलप लगाइएको हुन्छ र ऐरावत हात्तीको प्रतिमा रखिएको हुन्छ। टुप्पोमा सेतो छत्र ओढाइन्छ भने रङ्गीबिरङ्गी झण्डाहरूले पनि सजाइएको हुन्छ। द्वादशीको साँझ वर्षभरि ज-जसका घरमा आफन्त बितेका हुन्छन्, तिनका घरका बालकदेखि वृद्धसम्म सबैले पितृको मोक्ष प्राप्ति र शान्तिका लागि सुत्र पाठ गर्दै नैवेद्य, अक्षता मन्दिरमा चढाएर हिँड्ने प्रचलन छ। साथै, गल्ली-गल्लीमा बत्ती बाली झिलिमिली पारिन्छ।

मध्यरात भएपछि हर्षबढाइँ गर्दै इन्द्रचोकमा तयार पारिएको मञ्चमा भव्य रूपमा सजाइएको आकाश भैरवको नीलो मूर्तिमा ल्याएर राखिन्छ। त्यसै रातदेखि महाकाली नाच, भैरव नाच, हात्ती नाच, लाखे नाचलगायत विभिन्न किसिमका नृत्य र झाँकीहरू सप्ताहभरि देखाउने गरिन्छ भने कुमारीको रथयात्रा पनि निकालिन्छ। चतुर्दशीका दिन बिहान जुन-जुन ठाउँमा कुमारीको रथ राखिन्छ, ती ठाउँका सडक पेटीमा त्रयोदशीको साँझमा बत्ती बाली झिलिमिली पारिन्छ। त्यसरी बत्ती बाल्ने काममा युवती र कन्याहरू लागेका हुन्छन्।

चतुर्दशीको दिन यात्राको मुख्य दिन हो र यस दिन इन्द्रजात्रा हेर्न वसन्तपुर वरिपरि मानव सागर उर्लिएको हुन्छ। यस दिन झकमक्क सिङ्गारिएकी कुमारीलाई कुमारीघरबाट ल्याई रथमा राखिन्छ। अन्य दुई रथमा गणेश र भैरवका प्रतीक दुई बालकलाई सिङ्गारेर राखिन्छ। बाजागाजासहित मङ्गलोत्सवका साथ रथ गुडाइन्छ र पूर्णिमासम्म टोल-टोलमा घुमाइन्छ। सबै ठाउँमा रथ घुमाइसकेपछि विधिपूर्वक लिङ्गो ढालिन्छ र जलाशयमा लगेर सेलाइन्छ। यसरी इन्द्रजात्रा समापन गरिन्छ। पूर्णिमाका दिन राष्ट्रपतिदेखि मन्त्रीहरूसम्मले कुमारीका हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्