प्रचण्ड भन्छन्, “जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ”

0

काठमाण्डाै – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिबद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सँदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उहाँले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजाका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेट्न पर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा । हामी कहा पनि यसो हेर्दा लक्षण चाहिँ । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता कता त्यस्तै देखिने ।’

उहाँले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । विगतमा जनताका समस्या बोध गर्ने , अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उहाँले गर्नुभयो।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरु बिर्सँदै जाने प्रवृत्ति विश्वभरका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा दाेहाेरिन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सधैँ सचेत र सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्