Saturday, December 7, 2024
घरसमाचारराजदेवी नगरपालिकामा राहतमा राजनीति ! भोट नदिने बाढीपीडितलाई राहत नदिएको भन्दै कार्यालय...

राजदेवी नगरपालिकामा राहतमा राजनीति ! भोट नदिने बाढीपीडितलाई राहत नदिएको भन्दै कार्यालय घेराउ

चन्द्रसूर्य समाचारदाता/
राजदेवी, (रौतहट), १० साउन/

रौतहटको सबभन्दा बढी मध्येको दोश्रो ठूलो बाढी प्रभावित क्षेत्र राजदेवी नगरपालिकाका बाढी पीडितहरूले शुक्रवार राजदेवी नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

बाढी आएको दुई साता वितिसक्दा पनि नगरप्रमुख र स्थानीय सरकारले बाढी प्रभावितहरूलाई राहत दिनुको सट्टा आहत दिने काम गरेको, राहतमा राजनीति गरेको, निर्वाचनताका आफूलाई भोट दिनेहरूलाई मात्र राहत दिने आश्वासन दिइएपछि आक्रोशित राजदेवी नगरपालिकाका बासिन्दाहरूले नगरपालिकाको कार्यालय घेराउ परेका हुन् ।

समाचारमा जनाइए अनुसार दुई साता अघि आएको विनाशकारी बाढीका कारण घरबार विहीन भई पालमा बसेर गुजारा गर्दै आएका पीडितहरू, अन्नबाली नष्ट भई खाद्यान्नको अभावमा भोकभोकै बस्नु परेका स्थानीयवासीहरू, धान रोपाइ गरेको एकसातामै बाढीले गर्दा खेतीबाली नष्ट भएका किसानहरूलगायत सम्पूर्ण बाढी पीडितहरूसहित करिब २ हजारको समूहमा आएका ९ वटै वडाका बासिन्दाहरूले शुक्रवार आक्रोशित बन्दै नगर कार्यपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

असारको अन्तिम साता सक्रिय मनसुन, अविरल वर्षाले झाझ, बकैया र बागमती नदिमा आएको बाढीले खाद्यान्न, लत्ताकपडा, घरबासलगायत सम्पूर्ण क्षेत्र प्रभावित हुँदा पनि जनताको मतबाट चुनिएका प्रतिनिधिले चासो नदेखाउनु, राहतमा राजनीति गर्नु जस्ता क्रियाकलापबाट आक्रोशित नागरिकहरूले प्रदर्शन गर्दै नगर कार्यपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

झाझ, बागमती, बकैया नदीमा आएको बाढीबाट राजदेवी नगरपालिकाका विभिन्न वडाहरु नराम्ररी प्रभावित भए पनि जनप्रतिनिधिले वास्ता नगर्दा स्थानीयले बाध्य भएर कार्यालय घेर्नु परेको पीडितहरूले बताए ।

बाढी गएको दुई साता बित्दा पनि मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका कुनै पनि पदाधिकारीले आफूहरुको समस्याप्रति कुनै चासो नदिएको पीडितहरूको गुनासो छ ।

‘घरमा बस्ने अवस्था छैन, खान अन्नको छटाक छैन, जिउमा लगाउने कपडा छैन, गाउँमा कसैले दिएको भरमा बालबालिकालाई खुवाएर अहिले सम्म बाँचेको छु, तर नगरपालिकाबाट कुनै बन्दोबस्तीको सामानहरु पाउन सकिएन । अब कसरी बाँच्नु ?’ एक पीडितले गुनासो गरे ।

त्यस्तै एक अर्का बाढीपीडितले राहत लिन पनि मेयरको मान्छे हुनुपर्ने हो कि के हो भन्दै दुखेसो पोख्नुभयो । आफूलाई भोट दिए नदिएको छुट्टयाउँदै मेयरले भेदभाव समेत गरेका उहाँको आरोप छ ।

राजदेवीको बाढीपीडित नागरिकले आफूहरुलाई भत्किएका घरहरु मर्मत गर्न र भोक मेटाउन खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक सामग्रीहरुको अभाव रहेको गुनासो गरे ।

राजदेवी नगरपालिकाकी उपमेयर अंशु सिंहले बाढीपीडितहरु आन्दोलित हुन थाल्दा निकै सम्झाइबुझाइ गरेर एक साताभित्र समस्या समाधान गर्ने आश्वासन दिएपछि फर्किएको जानकारी दिनुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -