चन्द्रसूर्य समाचारदाता
काठमाण्डौ, २८ जेष्ठ/
ग्वासा: खल: नेवा राष्ट्रिय मुक्ति मोर्चा, नेपा:, काठमाण्डौ जिल्ला समितिले मंगलवार काठमाण्डौस्थित असन चोकमा विरोधसभाको आयोजना गरेको छ ।
सरकारले ल्याउन लागेको गुठी विधेयक ख़ारेजीको माग तथा माइतीघर मण्डलामा भएको राज्यको दमनको विरुद्धमा सो गर्दै विरोधसभाको आयोजना गरिएको नेवा राष्ट्रिय मोर्चाले जनाएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता सीपी गजुरेले वर्तमान सरकारले तानाशाही फासीवाद ल्याउन खोजेको आरोप लगाए ।
नेता गजुरेलले वर्तमान सरकार लुटेरा र भ्रष्टाचारीहरुको मात्र सरकार भएको र देशका वर्तमान प्रधानमंत्री नेपाली इतिहासकै सबभन्दा नालायक प्रधानमन्त्री रहेको आरोप लगाए । उनले भने “देशमा विद्यमान भ्रष्टाचार, ढिलासुस्ति, हत्या, आतंक, राष्ट्रघातलगायतका काम वर्तमान सरकारको संरक्षणमैं भैरहेको छ । हैन भने निर्मला बलात्कार र हत्याकाण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, वाइड बड़ी प्रकरण जस्ता अनेकौं काण्ड नै काण्ड मच्चिरहंदा पनि सरकार किन मौन भएर बसेको छ ?”
जघन्य अपराध, राष्ट्रघातका अपराधीलाई कांखी च्याप्ने तर देशको राष्ट्रिय सम्पत्ति, गूठीको जग्गा मिच्न पाईंदैन भनि शान्तिपूर्ण प्रदर्शन गर्ने नेपाली नागरिकमाथि बर्बरता पूर्ण तरिकाले दमन गर्ने सरकारको नीति धेरै दिन नचल्ने नेता गजुरेलको दाबी थियो ।
सरकारले संसदमा पेश गरेको गुठी विधेयक ख़ारेज नगरिए देशभर आन्दोलको आँधी बेहरी ल्याउने चेतावनी दिएको छ ।
कार्यक्रममा गुड्डी, शर्मा, सुजाता श्रेठलगायत ग्वासा: खल: नेवा राष्ट्रिय मुक्ति मोर्चा, नेपा:, काठमाण्डौ जिल्ला समितिका सदस्य, सर्वसाधारण नागरिक लगायतको भव्य उपस्थिति रहेको थियो ।