हावाहुरी प्रभावितलाई त्रि.वि. कर्मचारीसंघद्वारा १० लाख ८२ हजारको सहयोगः
राहतमा हिनामिना र भ्रष्टाचार हुन नदिन नेपाली सेनालाई निर्माणको जिम्मा लगाउने मूख्यमन्त्री राउतको भनाई
चन्द्रसूर्य समाचारदाता
वीरगंज, २३ चैत्र/
त्रिभुवन विश्व विद्यालय कर्मचारी संघ केन्द्रिय समितिले बारा र पर्साका हावा हुरी प्रभावितहरूलाई एक दिनको तलब बराबर १० लाख ८२ हजारको सहयोग प्रदान गरेको छ ।
शनिवार एक कार्यक्रमका बीच त्रिवि कर्मचारी संघ केन्द्रिय समितिका अध्यक्ष भोजराज राउतले प्रदेश नं. २ का मूख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीलाई १० लाख ८२ हजार एक सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।
सो चेक हस्तान्तरण कार्यक्रममा त्रिवि कर्मचारी संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष पूण्य प्रसाद आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्दै विनाशकारी हावाहुरीबाट हुन गएको मानविय र भौतिक दैविक क्षतिले सम्पूर्ण मानव समुदायलाई आघात पुगेको र त्रिविका कर्मचारीहरू समेतलाई अत्यन्त दुःखी बनाएको हुँदा पीडितहरूको घाउमा मल्हमपट्टी लागोस् भन्ने पवित्र मनसायले त्रिविका सम्पूर्ण कर्मचारीहरूले आप्mनो एक दिनको तलब बराबरको रकम पीडितहरूलाई प्रदान गर्न आएको बताए ।
वरिष्ठ उपाध्यक्ष आचार्यले विशुद्ध मानवीय भावनाले प्रेरित भई प्रदान गरिएको सहयोग रकम वास्तविक पीडित सम्म पुग्ने अपेक्षा राखेको बताए । उनले सोही सन्दर्भमा नेपाल सरकारले सो आँधीहुरीका घाइतेहरूलाई सम्पूर्ण उपचार खर्च निःशुल्क रुपमा प्रदान गर्ने घोषणा गरिसकेको समयमा पनि वीरगंजका मेडिकल कलेजले विरामीहरूको उपचारमा आलटाल र लापरवाही गरिरहेको सम्बन्धमा मूख्य मन्त्री लालबाबु राउत गद्दीलाई ध्यानाकर्षण गराएका थिए ।
त्रि.वि.क.संघका केन्द्रिय अध्यक्ष भोजराज राउतले राहत वितरणमा राजनीतिक चलखेल र भ्रष्टाचार नहोस् भन्ने विश्वासका साथ आफूहरूले प्रदेश नं. २ का मूख्य मन्त्री मार्फत वास्तविक प्रभावितहरूलाई राहत प्रदान गर्न सो सहयोग प्रदान गरेको बताउनु भयो । केन्द्रिय अध्यक्ष राउतले राहत प्रदानमा कुनै राजनीतिक चलखेल र भ्रष्टाचार हुन नदिन मूख्यमन्त्री ज्यूले विशेष भूमिका खेल्नुहुनेमा त्रिवि कर्मचारी संघ विश्वस्त रहेको बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का मूख्यमन्त्री महम्मद लालबाबुर राउत गद्दीले चेक बुझ्दै प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरूकोलागि आएको सहयोग रकममा एक पैसाको पनि हिनामिना हुन नदिन पुनर्निर्माणको जिम्मा नेपाल सेनालाई दिने विषयमा प्रधानमन्त्रीज्यूसँग आन्तरिक छलफल भइरहेको बताउनु भयो ।
मूखयमन्त्री गद्दीले मानवीय भावनाबाट ओतप्रोत भई आफ्नो गास कटाएर पीडितहरूकोलागि राहत प्रदान गर्न आएका त्रिवि कर्मचारी संघका केन्द्रिय समितिलगायतलाई धन्यवाद दिनु भएको थियो ।
सो चेक हस्तान्तरण कार्यक्रममा संसद प्रदीप यादव, ठाकुर राम क्याम्पसका क्याम्पस प्रमुख प्रमोद कुमार कुशवाहा, नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख सूर्य कोइराला, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ केन्द्रिय समितिका उपाध्यक्ष सुनिल राज बस्नेत, त्रि.वि. प्रगतिशील कर्मचारी संगठन केन्द्रिय समितिका उपाध्यक्ष श्याम लामा, नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवि केन्द्रिय महासचिव शालिकराम सापकोटा, राष्ट्रिय कर्मचारी संगठन नेपाल त्रि.वि. केन्द्रिय समितिका अध्यक्ष हरिहर बस्नेत, त्रि.वि. कर्मचारी संघ ठाकुर राम बहुमुखी क्याम्पस इकाइ समितिका सभापति, त्रिवि कर्मचारी संघ नर्सिङ क्याम्पस इकाइ समितिका सभापति, त्रि.वि. प्राध्यापक संघ ठाकुर राम क्याम्पस एकाइ समितिका सभापति, त्रिवि प्राध्यापक संघ नर्सिङ क्याम्पस एकाई समितिका सचिव, ठाकुरराम बहुमुखी क्याम्पस तथा नर्सिङ क्याम्पसका स्ववियु सभापतिहरू, त्रिवि कर्मचारी संघका केन्द्रिय सदस्य नन्द किशोर प्रसाद कहार (नन्दु भाई) लगायतको सहभागिता रहेको थियो ।
त्रि.वि.मा कृयाशील वैचारिक संगठनका केन्द्रिय प्रतिनिधिहरू समेतको सहभागितामा त्रिवि कर्मचारी संघद्वारा आयोजित सो चेक हस्तान्तरण कार्यक्रम संचालन महासचिव भिमलाल भक्तले गर्नुभएको थियो ।