२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:१०

चक्लेट दिएर क्रिश्चियन धर्म प्रचारमा बालबालिकालाई प्रयोग

काठमाडौं । ०६२/६३ को परिवर्तनपछि इसाईहरुले खुलेआम धर्मको प्रचार गर्दै आएका छन् । कम्युनिष्टको नेतृत्वमा सरकार बनेपछि त झन धर्मपरिवर्तनका गतिविधिहरु दिनप्रतिदिन बढ्दै गएका छन् । नेपालको संविधानले धर्म परिवर्तन गराउन प्रतिवन्ध लगाएपनि क्रिश्चियन धर्म प्रचारका लागि हालै आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा सरकार नै आयोजक जस्तो भएर प्रस्तुत भएपछि धर्म परिवर्तनमा लागेका स्वदेशीविदेशी व्यक्ति, संघसंस्था, एनजिओ÷आईएनजिओको झन मनोवल बढेको देखिन्छ । 


निशुल्क शिक्षा दिने, स्वास्थ्य उपचार गराउने, रोजगारी दिने र विदेश भ्रमण गराउने प्रलोभन देखाएर इसाईहरुले धर्मपरिवर्तन गराउँदै आएका छन् । धर्म परिवर्तन र प्रचारमा कलिला बालबालिका समेत प्रयोग हुने क्रम बढ्दै गएको छ । क्रिश्चियनहरुले खोलेका र सहयोग गरेका स्कुलहरुमा क्रिश्चियन धर्म नै पढाउने देखि विद्यार्थीहरुलाई धर्म प्रचारमा समेत सामेल गर्ने क्रम बढ्दै गएको छ ।


केही दिनअघि काभ्रेपलाञ्चोकमा विद्यालय उमेरका बालबालिकालाई क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको पाइएको छ । बनेपा नपा–८ स्थित बेतानी चर्चले बालबालिकाहरुलाई बिहान–वेलुका बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्न लगाउने गरेको पाइएको छ । १० देखि १३ वर्षसम्मका त्यस्ता बालबालिका क्रिश्चियन धर्म सम्वन्धी दर्जनौँ पुस्तक लिएर वितरण गर्दै हिडेको अवस्थामा गत शनिबार भेटिएका थिए ।
बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको बताएका छन् । उनीहरुले ‘अंकल यो किताब पढ्नुुस् है’ भन्दै क्रिश्चियन धर्मसम्बन्धी पुस्तक वाढ्ने गरेको स्थानीयले बताएका छन् । धर्मसम्वन्धी ‘ध’ पनि नजानेका कलिला मस्तिकलाई प्रयोग गर्दा पनि सरकारले कुनै कारवाही नगरेको देख्दा स्थानीयहरु आश्चर्यमा परेको बताउँछन् ।


आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले चर्चको अंकलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु भनेर पठाएको बताएका छन् । एउटा जिल्लाका बालकलाई अर्को जिल्ला र अर्को जिल्लाका बालबालिकालाई अर्को जिल्लामा पुर्याएर चर्चमा राख्ने, काम लगाउने र चक्लेट, विस्कुट दिएर प्रचार–प्रसारमा खटाउने गरेको पाइएको छ । प्रचार–प्रसारमा हिडेका एक बालकले भने ‘यी किताब बाँडिसकेपछि अंकलले चक्लेट किनिदिनुहुन्छ ।’ चर्चले विहान–वेलुका धर्म प्रचार गर्न लगाउने र दिउँसो प्रार्थना गर्न लगाउने गरेको एक बालकले बताएका छन् । 


जिल्लाका मानवअधिकारकर्मी, वुद्धिजीवी तथा समाजसेवीहरुले धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद भएको बताउँदै यस्ता कार्य रोक्नु पर्ने बताएका छन् ।
(प्रतिस्पर्धा साप्ताहिकमा प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM