२०८३ बैशाख २७ गते, आईतवार ०१:३३

कांग्रेसमा पदाधिकारीबारे सहमति जुटेन

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा महासमिति बैठकको अघिल्लो दिनसम्म पदाधिकारीबारे अझै सहमति जुटेन । तर, केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ ।

दिउँसो २ बजे बोलाइएको कार्यसमितिको बैठक सहमति प्रयास जारी रहेको भन्दै लामो समयसम्म बस्न सकेन । एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘भोलि महासमिति बैठक उद्घाटन हुन्छ । त्यसपछि अरु छलफल सुरु गर्छौ । विधानबारे सहमतिको प्रयास पनि जारी राख्छौं ।’

तर, पार्टी सभापति शेबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला आ आफ्नै प्रस्तावमा अडिएका छन् । देउवाले उसपभापति, महामन्त्री र सहमहामन्त्री २/२ बनाउने तथा पौडेलले ३/३ बनाउने प्रस्ताव राखेका छन् । महामन्त्री शशांक कोइरालाले भने पिरामिड शैलीमा उपसभापति २, महामन्त्री ३ र सहमहामन्त्री ४ प्रस्ताव गरेका छन् ।

अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने र नभए आ आफ्नो प्रस्ताव लैजाने नेताहरुले बताएका छन् ।

बैठकले उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव संशोधनसहित पास गरेको छ भने महामन्त्री शशांक कोइरालाको सांठगनिक र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पास गरेको छ ।

गच्छदारलाई २०० महासमिति सदस्य

केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन फोरम लोकतान्त्रिकलाई २०० महासमिति सदस्य दिने निर्णय गरेको छ । साथै १५० पर्यवेक्षक हुनेछन् ।

गच्छदारले आम चुनावको पूर्वसंख्यामा पार्टी कांग्रेसमा विलय गराएका थिए । त्यसबेलाको सहमति अनुसार उनी उपसभापति भएपनि अरु नेताहरुलाई कांग्रेसले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM