राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई १० लाख धरौटीमा छाड्ने आदेश

0

२७ मंसिर, मोरङ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश पछि पूर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहीबार उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । बिहीबार न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।

भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणका लागि हुण्डी मार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो ।

गत असार ६ गते पक्राउ परेका पौद्दारसहित सञ्जय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साहलाई पूरक अभियोगमा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत भदौ १३ गते कारागार चलानको आदेश दिएको थियो ।

जिल्लाको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका पोद्दारले गत असोज १६ गते जिल्लाको आदेश बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए । ६ पटक पेसी सरेको पोद्दारको मुद्दामा बिहीबार आदेश आएको हो ।

गत जेठ ८ गतेको आदेशपछि कारागारमा रहेका आरके भन्ने राजेन्द्रकुमार शाक्यले गत साउन १ गते उच्च अदालतमा निवेदन दायर गरेका थिए । शाक्यको हकमा २६ पटक पेशी सरेपछि २७ औ पटकमा धरौटीमा छाड्ने आदेश आएको हो ।

गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको सुन तस्करी प्रकरणमा दुई वटा पूरकसहित ७५ जनाविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिव ३८ क्वीन्टल) आयात गरेको दाबीसहित जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दायर गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्