पोखरा । पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।
अखिल क्रान्तिकारी ४ नम्बर प्रदेशले पोखरास्थित पृथ्वीनारायण गेट अगाडि मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो । कालोपट्टि बाँध्धै नाराजुलुसमा निस्किएका अखिल क्रान्तिकारीका टिमले निरन्तर वृद्धि भइरहेको पेट्रोलियम पदार्थ मूल्य वृद्धि फिर्ता लिन माग मात्र गरेनन्, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागे । विरोधका क्रममा ‘नालायक सरकार राजीनामा दे, मूल्यवृद्धि तत्काल फिर्ता गर’ लगायतका नारा लगाएका थिए ।
विरोध कार्यक्रमको नेतृत्व गरेको ४ नं. प्रदेशका संयोजक क्षितिज सापकोटाले पार्टी नेतृत्व सरकारमा रहे पनि जनतालाई सास्ती दिने खालका हरेकखाले सरकारी निर्णयको विरुद्ध आफूहरु उत्रने बताए । ‘जनतालाई अनावश्यक सास्ती र दुख दिने जुनसुकै सरकारको विरुद्धमा हामी सडकमा उत्रिन्छौँ’ विरोधपछि सम्बोधन गर्दै उनले भने, ‘सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ ।’ मूल्यवृद्धि फिर्ता लिन सरकारले अटेर गरे अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनको भनाई छ ।