मोदी फर्किएसँगै फेरि गन्हाउन थाल्यो जनकपुर !

0

धनुषा, जेठ १२ – जनकपुरधाम मिथिलाको प्राचीन राजधानी एवं वर्तमान प्रदेश नं. २ को मुकाम हो । तर मरेको गाईवस्तु , सुँगुर, कुकुरलगायत फोहर व्यवस्थापन नहुँदा जनकपुर प्रवेशद्वारसंगै नगरको विभिन्न ठाउँ दुर्गन्धित हुने गरेको छ ।

 

जनकपुरको प्रवेशद्वार मानिने पीडारीचोकको पाँच सय मिटर उत्तर जनकपुर–ढल्केवर सडकखण्डको पूर्वपट्टि छेउ वर्षैभरि फोहोर थुपार्ने डम्पिङ्ग साइटको रुपमा रहेको छ । दैनिक रुपमै सडेगलेको फोहोर र मरेको कुकुर, सुँगुर फाल्दा यो ठाउँ वर्षैभरि दुर्गन्धित रहन्छ । जसको कारण जनकपुर भ्रमणमा आउने र जाने पर्यटकका साथै सर्वसाधारणलाई जनकपुरको प्रवेशद्धारमै दुर्गन्धको सामना गर्नुपर्छ ।

नाक थुनेर बाटो काट्नु पर्दा यात्रुलाई असहज हुनुको साथै जनकपुरको विषयमा नकारात्मक संदेश बाहिर जाने गरेको छ ।

स्थानीय व्यवसायीले पटक–पटक त्यस ठाउँमा फोहोर नफाल्न र फाल्न रोक लगाउन गुहार्दा पनि जनकपुर उपमहानगरपालिकाले चासो नदेखाएको गुनासो गरेका छन् । दुर्गन्धले स्थानीयबासिन्दा आजित भएको र दुर्गन्ध सहने बानी नै परिसकेको स्थानीय व्यवसायी राजु साहले गुनसो गर्नुभयो ।

यस्तै जनकपुर नगरभित्र कुनै ठाउँमा सुँगुर,कुकुर, बिरालो मर्दासमेत जनकपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको देखिँदैन । जनकपुर उपमहानगरपालिका –९, मा रहेको एतिहासिक बाह्रविघा मैदानको उत्तर पश्चिम कुनामा रहेको संकटमोचन मन्दिर नजिक दुई वटा मरेको सुंगुर गएको एक सातादेखि त्यसै फालिएको छ ।  संकटमोचन मन्दिरको दुई सयमिटर दक्षिण सडक छेउ र मन्दिरको एकसय मिटर उत्तर पूर्व छेउमा मरेको सुँगुर गन्हाउँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । यसले त्यसक्षेत्रका सर्वसाधारणलाई असहज भइरहेको छ ।

स्थानीय युनिभर्सल क्याम्पसमा कार्यरत्त रवीन्द्र मण्डल एकसातादेखि दुर्गन्ध फैलिदा विद्यार्थीलाई पठनपाठनमा समस्या भई विद्यार्थी क्याम्पस आउन गाह्रो मानिरहेको गुनासो गर्नुहुन्छ । तर पनि जनकपुर उपमहानगरपालिकाले यसलाई व्यवस्थापन गर्न कुनै मतलब गरेको छैन ।

जनकपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रमेश्वर साहले यस विषयमा आफूले भर्खर थाहा पाएको र अब मरेको सुँगुरलाई व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले पटक–पटक माग गर्दा पनि उपमहानगरपालिका कार्यालयले हालसम्म फोहोर व्यवस्थापनको लागि मेस्तर र स्वीपर नदिँदा वडाको धेरै जसो ठाउँमा फोहोर व्यवस्थापनको काम समेत नभएको र जनताको गुनासोको मार आफूले खेप्नु परेको बताउनुभयो ।

जनकपुर नगरभित्र छाडा सुँगुर र कुकुरको आतंक धेरै पुरानो समस्या हो । त्यसैले यहाँ पटक–पटक गाईवस्तु पनि सवारीको ठक्करले मर्ने गरेका छन् । मरेको गाईवस्तु जनकपुर उपमहानगरपालिकाले नउठाउँदा अधिकांश ठाउँमा सर्वसाधारण आफैले कुनै सडकपेटी अथवा खुल्ला स्थानमा फाल्ने गरेका छन् । मरेको जीवजन्तुलाई जथाभावी फालेपछि  सडेर गन्हाउँदा दुर्गन्धको सामना नगरबासीले खेप्नु परेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सफा र चिटिक्क पारिएको जनकपुर पुरानै अवस्थामा फर्किएको छ । चोक–चोकमा फोहोर थुप्रिएको छ । मिथिला चित्रकलाले चिटिक्क देखिएका भित्ताहरु फोहोर भैसकेका छन् । भ्रमणका बेला फिनेल राखेर दुर्गन्ध हटाइए पनि अहिले नगर नै फोहोरको दुर्गन्धले ढाकेको छ ।

जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाले अब छाडा चौपाया तथा  सुँगुर र कुकुरको नियन्त्रण अभियान नै थाल्ने बताउनुभयो । यस विषयमा उपमहानगरपालिकाको बैठकमा छलफल भइरहेको बताउँदै उहाँले जनकपुरको फोहोर व्यवस्थापनप्रति पनि आफूहरु गम्भीर रहेको प्रतिक्रिया दिनुभयो ।

 

साभारःउज्यालो

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्