क्राइमचेक प्रतिनिधि/
वीरगंज/भनेजति दाईजो समयमा दिन नसकेपछि विहे भाँडिंदा तनावमा आएर युवतीले आत्महत्या गरेको समाचार प्रकाशमा आएको छ ।
युवतीले आत्महत्या गरेपछि प्रहरीले पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई गरेको हो । वीरगंज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगाई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।
पक्राउ परेका साहलाई मंगलबार सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुनु आठ दिनअघि आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि आवश्यक कारबाहीका लागि केटाका पिता साहलाई नियन्त्रणमा लिइएको बताए ।
तीन लाख नगद, साइन मोटरसाइकल, सुनको सिक्री, औँठी, कपडा र घरायसी सामान दाइजोमा दिने सहमतिपछि यही वैशाख १४ गते बच्चु साहका छोरा शिवदयाल कुमार र रविताबीच विवाह गर्ने सहमति भएको थियो ।
दाइजोबारे सहमति भएको केही दिनपछि नै केटा पक्षले थप रु ८० हजार नगद माग गरेपछि दुवै पक्षमा तनाव उत्पन्न भएको र सोको जानकारी रवितालाई भएपछि घरको कोठामा वैशाख ६ गते पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले जानकारी दिए ।
उनले केटा पक्षले माग गरेको थप दाइजो रकमबारे रविताले शिवदयाललाई फोन गरी कुरा गर्दा माग गरिएको थप रकम नदिए विवाह नगर्ने बताएपछि रविताले आत्महत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।
दाइजोकै कारण विवाहपूर्व नै रविताले आत्महत्या गर्नु परेको लिखित उजुरी उनका परिवार पक्षले दिन नमानेपछि आत्महत्या गरिने कारकलाई वर्तमान कानूनले कारबाही गर्ने प्रष्ट व्यवस्था नभएका कारण जिल्ला प्रहरी कार्यालय, पर्साको प्रतिवेदनका आधारमा बच्चु साहलाई सामाजिक सुधार ऐनअनुसार मुद्दा चलाउने तयारी गरिएको उपरीक्षक रेग्मीले सञ्चारकर्मीलाई जानकारी दिए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विहे हुने पक्का भएका केटा शिवदयाल साह भने फरार रहेको भएपनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
दाइजो लिनु र दिनु दुवै दण्डनीय अपराध भएकाले यस्तो कार्य नगर्न नगराउन सबैलाई पर्सा प्रहरीले अनुरोध गरेको छ । दाइजो लिने वा दिने कार्यमा कोही संलग्न रहेका छन् भने त्यस्ता व्यक्तिबारे जानकारी दिन प्रहरीले सर्वसाधारणसँग अपिल पनि गरेको छ ।
२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित