२०८१ चैत्र २४ गते, आईतवार १३:४२

✍️डा. वंश दीप शर्मा खरेल

‘स्वर्ण’ को अर्थ ‘सुन’ हुन्छ। सुनबाट बनाइएको ‘भष्म’ लाई घीउ, मह लगायत विभिन्न जडीबुटीको सम्मिश्रणबाट ‘स्वर्णविन्दुप्राशन’ औषधि तयार गरिन्छ।

पूर्वीय दर्शनअनुसार प्राचिन कालमा प्रत्येक कार्यको आरम्भ संस्कारद्वारा गरिने विधिका बारेमा उल्लेख भएको पाइन्छ। यसरी पूर्वीय दर्शन तथा हिन्दु परम्परामा १६ प्रकारका संस्कारको वर्णन गरिएको पाइन्छ।

आयुर्वेदको मतअनुसार बच्चा जम्मिएपछि नवजात शिशुको सालनाल विच्छेदपश्चात सुन वा चाँदीको चम्चाबाट जिब्रोमा मह चटाउनुका साथै ॐ लेखेपछि आमाको दुग्धपान गराइने विधिको प्रसङ्ग उल्लेख छ। जसलाई जातकर्म संस्कार भनिन्छ।

त्यसैले बच्चा जन्मिएपछि कुनै पनि तरिकाले बच्चालाई सुन चटाउनुलाई स्वर्णविन्दुप्राशन भनिन्छ। स्वर्ण मानव शरीरका लागि श्रेष्ठ धातु मानिन्छ। त्यसैले सुन अर्थात स्वर्णलाई बच्चादेखि सबै उमेर समूहका व्यक्तिका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउने श्रेष्ठकर मानिन्छ।

वैदिक कालमा ऋषिमुनिहरू आफ्ना सन्तानको जन्मपश्चात नवशिशुकाल देखिनै सम्पूर्ण बालबालिकाहरूलाई स्वर्णविन्दुप्राशन गराउने शास्त्रमा उल्लेख छ। बालबालिकालाई स्वर्णविन्दुप्राशन गराएकाले नै सो समयका बालबालिका तथा किशोर किशोरीहरूले तीक्ष्ण स्मरण शक्तिका कारण सुनेको भरमा विद्या तथा ज्ञान आर्जन गरेको मानिन्छ।

त्यतिमात्रै हैन त्यो बेला स्वर्णविन्दुप्राशन गरिने भएकाले नै बालबालिका तथा किशोरकिशोरी बुद्धिमान, बलवान, धैर्यवान, मेधावी तथा तेजस्वी हुने गरेको शास्त्रमा उल्लेख छ। आयुर्वेद चिकित्सकीय विधिअनुसार जुन तथ्य वैज्ञानिक समेत देखिन्छ।

आजभन्दा करिब ३ हजार वर्षअघि महर्षी कश्यपले काश्यप संहितामा स्वर्णविन्दुप्राशनको गुण तथा महत्त्वका बारेमा उल्लेख गरेको पाइन्छ। सो काश्यपसंहिताको सूत्रस्थानमा श्लोकलाई यसरी वर्णन गरिएको छ।

‘सुवर्ण प्राशन हि एतत मेधाग्निबलवर्धनम्।

आयुष्यं मंगलमपुण्यं वृष्यंग्रहापहम्।।

मासात् परममेधावी क्याधिभिर्न च धृष्यते।

षडभिर्मासैस् श्रुतधरस् सुवर्णप्राशनाद् भवेत्।।’

आयुर्वेदिक चिकित्सकीय विधिमा भनिएअनुसार स्वर्णविन्दुप्राशनले मेधा (बुद्धि), अग्नि (पाचन अग्नि) र बल बढाउँछ। यसले दिर्घायु, कल्याणकारी तथा पुण्यकारक (सामाजिक उत्तरदायित्व वहन गर्नसक्ने) हुनुका साथै वृष्य (वीर्य, तागत, बल बढाउने), वर्ण्य (शरीरको वर्ण तेजस्वी बनाउने), ग्रह पीडाको समाधान गर्ने तथा विभिन्न प्रकारका रोग लाग्न बाट बचाउँछ।

स्वर्णविन्दुप्राशन (सुनबाट तयार भएको भष्म)को सेवन गरेको एक महिनामा नै मेधायुक्त अर्थात विभिन्न प्रकारका रोगबाट रक्षा गर्न मद्धत मिल्छ। यो सेवन गरेको ६ महिनापछि श्रुतधर अर्थात् सुनेका सबै कुराहरू स्मरण गर्न सक्ने क्षमताको विकासभई तीक्ष्ण स्मरणशक्तिको वृद्धि हुन्छ।

०००

स्वर्णविन्दुप्राशन बालबालिकालाई सेवन गराउँदा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन मद्धत मिल्छ। साथै यो जडिबुटीजन्य औषधिको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकाले विभिन्न किसिमका रोगको जोखिमबाट समेत बच्न सकिन्छ।

बालबालिकालाई स्वर्णविन्दुप्राशनको सेवन गराउनाले बालबालिका शारीरिक रूपमा ह्रृष्टपुष्ट तथा मजबुद हुन मद्धत मिल्छ। त्यतिमात्रै कहाँ हो र, यसको सेवनले मानसिक रूपमासमेत व्यक्ति तीक्ष्ण हुन मद्धत मिल्छ।

सुस्त मनस्थितिको समस्या भएका, अटिज्म, ध्यान केन्द्रीत नहुने जस्ता समस्या भएका बालबालिकाका लागि समेत यो लाभदायक हुन्छ। स्वर्णविन्दुप्राशनको सेवनले स्मरणशक्ति बढाउँछ। उमेरको अनुपातमा कम तौल भएको व्यक्तिको तौल बढाउन समेत यसले मद्धत मिल्छ। यस्तो समस्यालाई चिकित्सकीय भाषामा माइलस्टोन प्राप्त गर्न नसक्नु भन्ने बुझिन्छ।

यसको सेवनले बालबालिकाहरूमा विभिन्न किसिमका रोग लाग्नबाट बचाउन उपयोगी मानिन्छ। कुनै एक किसिमको खोपले शरीरमा कुनै एक निश्चित प्रकारको रोगविरुद्ध लड्नका लागि मात्र रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्छ।

त्यसको ज्वलन्त उदाहरणको रूपमा कोरोना भाइरस विरुद्धको खोपलाई लिन सकिन्छ। तर, स्वर्णविन्दुप्राशनको सेवनले समग्र रोगविरुद्ध लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमताको वृद्धिमा मद्धत पुर्याउँछ। त्यसैले बालबालिकालाई शारीरिक तथा मानसिक रूपमा वृद्धि विकास र ऊर्जाका लागि स्वर्णविन्दुप्राशन लाभदायक छ।

रोग प्रतिरोधात्मक क्षमता प्रवल बनाउँछ

स्वर्णविन्दुप्राशन सेवन गरेको बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ। सुनबाट बनेको भष्ममा एन्टिअक्सिडेन्ट गुण हुने भएकाले बालबालिकालाई रोग लाग्ने जोखिम समेत कम हुन्छ। फलतः स्वर्णविन्दुप्राशन सेवन गराएका बालबालिका लागि एन्टिबायोटिक्स लगायतका औषधिहरूको आवश्यकता पर्ने सम्भावना कम हुने र यस्ता औषधिको दुश्प्रभावबाट बालबालिकालाई बचाउन सकिन्छ।

शारीरिक विकास

स्वर्णविन्दुप्राशन सेवन गराएको बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक गति ल्याउन मद्धत मिल्छ। सामान्यतया यसको प्रयोगले शरीर कमजोर तथा दुर्वलता भएको वा विभिन्न प्रकारका अनुर्जता (एलर्जी) हुनबाट समेत बचाउँछ।

स्मृतिबर्धक

स्वर्णविन्दुप्राशन सेवन गर्नाले स्मरण शक्तिको आश्चर्यजनक वृद्धि गराएर मानसिक रूपमा सम्झने क्रियाकलापमा बढोत्तरी गराउँछ। बालबालिकाहरूलाई तेजस्वी बनाउँछ। सुस्तमनस्थिति हुनबाट बचाउन मद्धत मिल्छ।

वौद्धिक क्षमतामा क्रियाशीलता

स्वर्णविन्दुप्राशन गर्नाले शारीरिक तथा मानसिक विकासको कारण बालबालिकाहरूमा तीक्ष्णता तथा बुद्धिमता ल्याउन मद्धत मिल्छ। पढाइमा एकाग्रता ल्याउनुको साथै अनुशासित तथा ज्ञानी बनाउन मद्धत मिल्छ।

पाचन शक्ति बढाउने

स्वर्णविन्दुप्राशन सेवन गर्नाले पाचन प्रणालीमा सुदृढता ल्याई खाएका खाद्यपदार्थ चयापचय (मेटाबोलिज्म) प्रक्रियाद्वारा सहज तरिकाले पचाउन मद्धत मिल्छ।

छालामा चमकता

स्वर्णविन्दुप्राशन सेवन गर्नाले शरीरमा भएको विशाक्त पदार्थ शरीर बाहिर जान मद्धत मिल्छ। जसले गर्दा व्यक्तिको शरीर नै स्वथ हुन त मद्धत मिल्छ नै। व्यक्तिको छालामा समेत चमकता ल्याइ सुन्दरता बढाउन मद्धत मिल्छ।

प्रजनन क्षमता मजबुत

स्वर्णविन्दुप्राशन सेवन गरेको बालबालिका वयस्क भएपछि प्रजनन् क्षमता समेत मजबुत हुन मद्धत मिल्छ। जसले गर्दा व्यक्ति निरोगी हुनुका साथै स्वस्थ यौन सम्पर्कका लागि सहयोग मिल्नुका साथै मेधावी तथा तेजस्वी सन्तान जन्माउन मद्धत मिल्ने शास्त्रमा उल्लेख छ।

स्वर्णविन्दुप्राशन तयार गर्ने निर्माण विधिः

स्वधित स्वर्णपत्र वा स्वर्णभष्म, मह, घिउलगायतको समिश्रणबाट पुष्य नक्षत्रको तिथीमा शास्त्रोक्त अनुपात तथा विधीबाट स्वर्णविन्दुप्राशन तयार गरिन्छ। कोठाभित्रको निश्चित तापक्रममा स्वर्णविन्दुप्राशन संचिती गरेर राख्न सकिन्छ।

त्यसबाहेक बोझो, गुर्जो, शंखपुष्पी, ब्राम्ही, विडंग, पिप्पली, कुथ, सुठो, मरिच, अश्वगन्धा, अमलाजस्ता अन्य स्मृतिवद्धक तथा रसायनजन्य जडीबुटीहरूसमेत प्रयोग गरेर ग्रन्थमा बताइएअनुसार घटक द्रव्यहरू मिलाई स्वर्णविन्दुप्राशन बनाउने प्रचलन छ। यस्तो औषधि अर्ध तरल वा लेदो स्वपमा बनेको हुन्छ।

स्वर्णविन्दुप्राशन सेवन गर्ने समय, अवधि र मात्राः

आयुर्वेदका संहितामा उल्लेख भएअनुसार हरेक महिनाको पुष्य नक्षत्रको दिनमा स्वर्णविन्दुप्राशन सेवनका लागि उत्तम मानिएको छ। ज्योतिष शास्त्रअनुसार पुष्य नक्षेत्र २७ नक्षेत्र मध्येको एक हो।

यसै नक्षेत्रको तिथीमा स्वर्णविन्दुप्राशन सेवनको आरम्भ गरी प्रत्येक नक्षेत्रका दिन पुनः सेवन गराउनु प्रभावकारी तथा सकारात्मक परिणाम दिने शुभ मानिएको छ।

३० देखि ९० महिनासम्म प्रत्येक महिनाको (पुष्य नक्षेत्रमा नै) एक दिन स्वर्णविन्दुप्राशन सेवन गराउने शास्त्रमा उल्लेख छ। यस मान्यताको अतिरिक्त अन्य कुनै पनि दिनमा सुरुगरी प्रत्येक दिनमा एकदेखि ६ महिनासम्म लगातार सेवन गराउने प्रचलन पनि भएको पाइन्छ।

विशेषगरी आयुर्वेद चिकित्सकसँग परामर्श लिएर स्वर्णविन्दुप्राशन गर्नु तथा गराउनु उचित हुन्छ। त्यसैगरी नवजात शीशुदेखि १६ वर्षको उमेरसम्म स्वर्णविन्दुप्राशनको सेवन गर्नु बढी लाभदायक मानिन्छ।

(आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ आयुर्वेद चिकित्सक डा. खरेल यसअघि सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशकको भुमिकामा थिए।)

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा