वीरगंज/ सशस्त्र प्रहरी बलका तीन जना प्रहरी उपरीक्षक सँगै बोर्डर आउट पोस्टका केहि इन्चार्ज हेडक्वार्टर तानिएका छन्।
प्राप्त खबर अनुसार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले १२नं. गण हेक्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, १३नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल र २६नं. गण हेक्वा. नवलपरासी पश्चिमका गणपति रुपकुमार क्षेत्रीलाई आर्थिक अनियमितता एवं तस्करी संचालनमा सघाएको आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको बताईन्छ।
त्यस्तै पर्साको तस्करीको मुख्य नाकाहरू मध्येको एक बोर्डर आउट पोस्ट अलौंका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक एकराज चौलागाईँ र तस्करीको अर्को मुख्य नाका अमरपट्टी स्थित बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक श्याम मगरातीलाई पनि तस्करीको लाइन दिएको साथै आर्थिक अनियमितता लगायतको आरोपमा हेडक्वार्टर तानिएको बताइन्छ। पर्सासँगै बाराका पनि केहि बोर्डर आउट पोस्टका इन्चार्ज आतन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो ।
तराईका विभिन्न जिल्लामा ऐतिहासिक रुपमा तस्करी भैरहेको, सशस्त्र प्रहरीको जिम्मेवार निकायकै संरक्षणमा सीमा क्षेत्रमा बीत्तीय अपराध फस्टाएको, भन्सार राजस्व असुली लगायतमा गिरावट आएको जस्ता खबरहरू विभिन्न संचारमाध्यममा निरन्तर सार्वजनिक हुन थालेपछि सशस्त्र प्रहरी मुख्यालयले बाहिनी र गणलाई समेत जानकारी नदिई केहि दिन अघि एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’ लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो ।
सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपति सहित केहि बिओपी इन्चार्जलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।