२०८३ असार १७ गते, बुधबार २१:०६

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको तथा भ्रामक सूचना फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ।

नेपाल मेडिकल काउन्सिलले बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दर्ता गराउँदै उपाध्यायमाथि आवश्यक कानुनी कारबाहीको माग गरेको हो।

काउन्सिलले दिएको उजुरीअनुसार उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर अनधिकृत रूपमा प्रयोग गरी भ्रामक, निन्दनीय तथा प्रतिष्ठामाथि आँच पुग्ने सामग्री सार्वजनिक गरेका छन्। उजुरीमा उक्त पोस्टमार्फत ‘नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र सात दिन हिरासतमा राख्ने प्रपञ्च’ जस्ता अभिव्यक्ति प्रयोग गर्दै निमित्त रजिष्ट्रारसहित काउन्सिलका पदाधिकारीहरूमाथि गालीगलौज र आधारहीन आरोप लगाइएको दाबी गरिएको छ।

काउन्सिलका अनुसार दर्ता नभएका व्यक्तिहरूले एलोप्याथिक औषधि लेख्ने तथा रेडियोलोजिष्टले मात्र गर्न मिल्ने एमआरआईजस्ता विशेषज्ञ सेवा सञ्चालन गरेको भन्ने उजुरी प्राप्त भएपछि कानुनबमोजिम छानबिन गरिएको थियो। छानबिनबाट दोषी देखिएका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको र सम्बन्धित विषय अदालतमा समेत विचाराधीन रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलले आफ्नो नियमित नियमनकारी तथा कानुनी जिम्मेवारीअन्तर्गत गरिएको कामलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीको विषय बनाएर सामाजिक सञ्जालमार्फत संस्था र पदाधिकारीविरुद्ध साइबर बुलिङ गरेको आरोप लगाएको छ।

उजुरीमा उपाध्यायको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत रहेको उल्लेख गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी संस्थाप्रति भ्रम, घृणा र द्वेष फैलाउने तथा स्वास्थ्य क्षेत्रको नियामक निकायको पेसागत विश्वसनीयतामाथि गम्भीर असर पार्ने कार्य गरेको जिकिर गरिएको छ।

काउन्सिलले उपाध्यायलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउन साइबर ब्युरोसँग अनुरोध गरेको छ।

उजुरीसँगै प्रमाणका रूपमा उपाध्यायले फेसबुकमा सार्वजनिक गरेको पोस्टका स्क्रिनसट तथा त्यसमा आएका अपमानजनक टिप्पणीहरू समेत प्रहरीलाई बुझाइएको काउन्सिल स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM