२०८३ असार १७ गते, बुधबार ०१:५०

तराई हस्पिटल: उपचार केन्द्र की मानव वधशाला?

 जलेश्वर सर्राफ/धिरेन्द्र तिवारी

वीरगञ्ज । उपचारका लागि अस्पताल पुगेका बिरामीले जीवन पाउने अपेक्षा गर्छन्, मृत्यु होइन। तर वीरगञ्जस्थित तराई हस्पिटलमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालको उपचार प्रणाली, चिकित्सकीय उत्तरदायित्व र निजी स्वास्थ्य संस्थाको नियमनमाथि गम्भीर प्रश्न उठेको छ। घटनापछि मृतकका परिवारले चिकित्सकको चरम लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

मृत्यु हुनेमा इन्दु देवी साह रहेकी छन्। उनका श्रीमान चन्दन कुमार साहका अनुसार श्रीमती पूर्ण रूपमा सामान्य स्वास्थ्य अवस्थामै नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। अस्पतालकी डा. तरन्नुम खातुनले अवस्था हेरेपछि भर्ना हुन सुझाव दिएको र त्यसपछि सामान्य (नर्मल) सुत्केरीसमेत भएको उनले बताए।

तर, सुत्केरी भएको केही समयपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएको र भेन्टिलेटरमा राखिए पनि जिम्मेवार चिकित्सकले समयमै प्रत्यक्ष उपचार नगरेको चन्दनको आरोप छ। उनका अनुसार बिरामीलाई नर्स र कम्पाउन्डरको भरमा छाडिएको तथा सम्बन्धित चिकित्सक निजी क्लिनिकमा व्यस्त रहँदा उपचारमा भएको लापरवाहीकै कारण श्रीमतीको मृत्यु भएको हो।

मृतकका आफन्तले अस्पताल प्रशासनले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, संलग्न चिकित्सक तथा अस्पताल प्रशासनलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

स्थानीयवासीका अनुसार उक्त अस्पतालमा उपचार सेवाको गुणस्तरबारे यसअघि पनि पटक–पटक गुनासा उठ्ने गरेका छन्। तर प्रभाव, पहुँच र आर्थिक शक्तिका कारण यस्ता घटनामा प्रभावकारी अनुसन्धान र कारबाही हुन नसकेको उनीहरूको दाबी छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

यस घटनाले केही गम्भीर प्रश्नहरू पनि उठाएको छ। यदि अस्पतालमा बिरामीको उपचार मुख्यतः नर्स र कम्पाउन्डरको भरमा हुने हो भने जिम्मेवार चिकित्सकको भूमिका कहाँ रहन्छ? अस्पतालले २४सै घण्टा विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गरेको छ कि छैन? बिरामीको अवस्था जटिल बन्दा उपचार प्रोटोकल पालना गरिएको थियो कि थिएन? यस्ता प्रश्नहरूको उत्तर सम्बन्धित निकायले दिनैपर्ने देखिन्छ।

स्वास्थ्य संस्था सेवा दिने ठाउँ हो, लापरवाही गर्ने ठाउँ होइन। चिकित्सकीय लापरवाहीबाट बिरामीको मृत्यु भएको पुष्टि भएमा त्यसलाई सामान्य घटनाका रूपमा लिएर टार्न मिल्दैन। स्वास्थ्य क्षेत्रप्रतिको जनविश्वास कायम राख्न पनि यस्ता घटनामा निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनु अपरिहार्य छ।

अब यो घटनाको सत्य बाहिर ल्याउने जिम्मेवारी सम्बन्धित नियामक निकाय, अनुसन्धान गर्ने निकाय तथा सरकारको काँधमा छ। दोषी जोसुकै भए पनि कानुनभन्दा माथि कोही हुन सक्दैन भन्ने सन्देश व्यवहारमै स्थापित हुनुपर्छ। अन्यथा उपचारको आशामा अस्पताल पुग्ने सर्वसाधारणले सुरक्षित उपचार पाउने विश्वास नै क्रमशः कमजोर हुँदै जानेछ।

यस घटनाबारे अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिए पनि अस्पतालका जिम्मेवार पक्षका कोही पनि सम्पर्कमा आउन चाहेनन्। अस्पताल प्रशासनको धारणा प्राप्त हुनेबित्तिकै समाचार अद्यावधिक गरिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM