२०८३ असार १७ गते, बुधबार ००:५७

गाडीको कालो सिसा : राम्रो ज्ञान बिना अनुमानको भरमा भाइरल हुने काम मात्र: पूर्व डिएसपी जोशी

काठमाडौं । सवारी साधनका झ्यालमा लगाइने कालो सिसा (टिन्टेड फिल्म) हटाउने अभियानलाई लिएर देशभर बहस चलिरहेका बेला नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक सुजन जोशीले यस विषयमा प्राविधिक जानकारीबिनै टिप्पणी गर्ने र सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

पूर्व डिएसपी जोशीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार नेपालमा अहिले निजी तथा सार्वजनिक सवारी साधनबाट टिन्टेड फिल्म हटाउने अभियानलाई अत्यधिक प्रचार गरिए पनि यसको प्राविधिक पक्षबारे पर्याप्त जानकारीबिनै निष्कर्ष निकाल्ने काम भइरहेको छ। उनले विश्वका अधिकांश मुलुकमा निश्चित मापदण्डभित्र रहेर सवारी साधनमा टिन्टेड फिल्म प्रयोग गर्न कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्।

उनका अनुसार निजी सवारी साधनमा चालकको दायाँ–बायाँतर्फका अगाडिका सिसामा ३५ प्रतिशत र पछाडिका सिसामा २० प्रतिशतसम्म Visible Light Transmission (VLT) भएको टिन्टेड फिल्म प्रयोग गर्न धेरै देशमा अनुमति दिइएको हुन्छ। आजकल उत्पादन हुने अधिकांश नयाँ गाडीमा त उत्पादक कम्पनीले नै कारखानाबाट टिन्ट गरिएको सिसा जडान गरेर बजारमा पठाउने गरेको उनको भनाइ छ।

जोशीले VLT को अर्थ पनि स्पष्ट पार्ने प्रयास गरेका छन्। उनका अनुसार VLT भनेको सिसाबाट कति प्रतिशत प्राकृतिक प्रकाश भित्र प्रवेश गर्न सक्छ भन्ने मापन हो। VLT को प्रतिशत जति कम हुन्छ, सिसा त्यति नै गाढा देखिन्छ र बाहिरबाट भित्रको दृश्य कम देखिने हुन्छ। यद्यपि त्यसले बाहिरबाट पूर्ण रूपमा केही पनि नदेखिने अवस्था सिर्जना नगर्ने उनको तर्क छ।

उनले ३५ प्रतिशत VLT भएको सिसाबाट करिब ३५ प्रतिशत प्राकृतिक प्रकाश भित्र प्रवेश गर्ने र बाँकी प्रकाश अवरुद्ध हुने उल्लेख गर्दै २० प्रतिशत VLT भएको पछाडिको सिसाबाट करिब २० प्रतिशत मात्र प्रकाश प्रवेश गर्ने बताएका छन्। यस्तो प्रविधिले घामका हानिकारक पराबैजनी (UV) किरण रोक्न, सवारी साधनको भित्री तापक्रम कम गर्न तथा यात्रुको गोपनीयता कायम राख्न समेत सहयोग पुग्ने उनको भनाइ छ।

पूर्व डिएसपी जोशीले अहिलेको बहसमा प्राविधिक तथ्यभन्दा भावनात्मक प्रतिक्रिया बढी देखिएको टिप्पणी गरेका छन्। उनले सम्बन्धित विषयको पर्याप्त ज्ञान र अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन नगरी केवल अनुमानका आधारमा टिप्पणी गर्ने तथा सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने प्रवृत्ति उचित नहुने बताएका छन्।

पछिल्ला दिनमा गृहमन्त्री सुधन गुरुङले आफ्नै सरकारी सवारी साधनमा लगाइएको कालो स्टिकर हटाएपछि नेपाल र ट्राफिक प्रहरीले देशभर सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएका कालो सिसा तथा टिन्टेड फिल्म हटाउने अभियानलाई तीव्रता दिएको छ। यही अभियानका बीच पूर्व डिएसपी जोशीको अभिव्यक्तिले सवारी साधनमा प्रयोग हुने टिन्टेड फिल्मको कानुनी, प्राविधिक र व्यवहारिक पक्षबारे नयाँ बहस सुरु गराएको छ। यद्यपि नेपालमा लागू कानुनले कस्तो प्रकारको टिन्टेड फिल्म वा कालो सिसालाई अनुमति दिन्छ वा निषेध गर्छ भन्ने विषय भने सम्बन्धित कानुनी व्यवस्था र सरकारले जारी गरेका मापदण्डका आधारमा नै निर्धारण हुने विषय हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM