२०८३ असार ८ गते, सोमबार २३:४७

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुसहित तीन जनाको मृत्यु

वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा चोकमा सोमबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवक र पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये दुई जनाको पहिचान खुलेको छ। उनीहरू जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौंको टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्। पैदलयात्रीको भने हालसम्म पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइते तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकहरूको शव हाल बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM