काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक शान्ति तथा सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा युगान्डा र भियतनामका सात जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार राति काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा बाटो हिँडिरहेका विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्दै दुःख दिने तथा सार्वजनिक असुविधा सिर्जना गर्ने कार्यमा उनीहरू संलग्न रहेको पाइएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि नै अभद्र व्यवहार गर्दै गालीगलौज, धक्कामुक्का तथा बल प्रयोगको प्रयास गरेको जनाएको छ। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा युगान्डाका पाँच जना र भियतनामका दुई जना नागरिक रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको जनाएको छ।















