२०८३ असार ८ गते, सोमबार २२:४४

२ करोड ५९ लाख भन्दा बढीको भेपसहित श्रेष्ठ पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले करिब २ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरका ७ हजार ७ सय थान अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ निवासी रामकुमार श्रेष्ठ रहेका छन्। उनलाई सोमबार बाह्रबिसे नगरपालिका–३ खाग्दल क्षेत्रबाट प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रहरीका अनुसार तातोपानी नाकाबाट बाह्रबिसेतर्फ ल्याइँदै गरेको बोलेरो गाडीमा विभिन्न ब्रान्डका विद्युतीय चुरोट लुकाइछिपाइ अवैध रूपमा भित्र्याइँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले गाडी रोकी खानतलासी गर्दा ठूलो परिमाणमा भेप बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार बरामद गरिएको भेपको अनुमानित बजार मूल्य २ करोड ५९ लाख ५० हजार रुपैयाँ रहेको छ। घटनामा प्रयोग गरिएको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका श्रेष्ठ, बरामद भेप तथा गाडीसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM