बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पिनिङ धागो उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक सूचना प्राप्त भए पनि घटनाको वास्तविक कारणबारे आधिकारिक निष्कर्ष आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब १०ः४० बजे उद्योग परिसरमा आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा ६ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको नेतृत्वमा ४ जना तथा औद्योगिक सुरक्षा बेस सशस्त्र प्रहरी बल जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको नेतृत्वमा ५ जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।
आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, अमलेखगञ्जस्थित नेपाल आयल निगम तथा वीरगञ्ज महानगरपालिकाका दमकल परिचालन गरिएको थियो। पाँचवटा दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ। उद्योगभित्र रहेका कच्चा पदार्थ, मेसिनरी तथा संरचनामा कति क्षति पुग्यो भन्ने विषयमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्रै स्पष्ट हुने बताइएको छ।
यद्यपि, उद्योगमा लागेको आगोको कारणबारे प्रारम्भिक अनुमानमै सीमित रहन नहुने सरोकारवालाहरूको भनाइ छ। नेपालमा विगतका वर्षहरूमा केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा भएको आगलागीपछि बीमा दाबी (इन्स्योरेन्स क्लेम) सम्बन्धी विवाद र अनुसन्धान भएका घटनाहरू सार्वजनिक भएका छन्। यस्ता नजिरका कारण ठूलो आर्थिक क्षति भएका औद्योगिक आगलागीका घटनामा प्राविधिक, फरेन्सिक तथा बीमा सम्बन्धी पक्षसमेत समेटेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याइँदै आएको छ।
यस घटनामा पनि विद्युत् सर्ट नै कारण हो वा अन्य कुनै कारणले आगलागी भएको हो भन्ने विषय प्राविधिक परीक्षण र अनुसन्धानबाट मात्र पुष्टि हुने भएकाले सम्बन्धित निकायले तथ्यमा आधारित निष्कर्ष सार्वजनिक गर्नुपर्ने देखिन्छ। आगलागीको वास्तविक कारण, क्षतिको अवस्था र बीमासम्बन्धी पक्षबारे आधिकारिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि मात्रै घटनाको सम्पूर्ण तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।















