वीरगंज । पर्सामा तस्करी नियन्त्रण र शान्ति-सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप पाठकले मातहतका प्रहरी युनिटलाई कडा निर्देशन दिए पनि केही सीमावर्ती क्षेत्रमा अवैध कारोबार पुनः सक्रिय बन्दै गएको आरोप स्थानीयस्तरबाट उठ्न थालेको छ।
स्थानीय स्रोतका अनुसार वडा प्रहरी कार्यालय बिर्ता, सीमा प्रहरी चौकी छपकैया, सिर्सिया, इनर्वा तथा इनर्वा गाउँ आसपासका क्षेत्रबाट पछिल्लो समय भन्सार छली गरी विभिन्न प्रकारका सामान नेपाल भित्र्याउने गतिविधि बढेको छ। प्रहरी प्रशासनले तस्करी नियन्त्रणमा सक्रियता देखाइरहेका बेला सीमावर्ती नाकाहरूबाट अवैध रूपमा सामान ओसारपसार हुने क्रम नरोकिएको गुनासो स्थानीयको छ।
भारततर्फका सीमावर्ती बजारबाट खाद्यान्न, कपडा, राजनीगन्धा, मोटर पार्ट्स तथा अन्य दैनिक उपभोग्य सामग्री भन्सार राजस्व छल्दै नेपाल भित्र्याइने गरेको आरोप छ। विशेषगरी राती २ बजेदेखि बिहान ४ बजेसम्म ठूलो परिमाणमा तथा दिनको समयमा सानो परिमाणमा भरियामार्फत सामान ल्याएर वीरगंजका पसल तथा ट्रान्सपोर्टमार्फत विभिन्न स्थानमा पुर्याइने गरिएको स्थानीयले बताएका छन्।
स्थानीय स्रोतहरूले वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी विवेक सिंहले केही तस्करहरूसँग समन्वय गरी अवैध कारोबार सहज बनाइदिएको आरोप समेत लगाएका छन्। लामो समयदेखि वडा प्रहरी कार्यालय विर्तामै कार्यरत रहेका कारण स्थानीय नेटवर्क बलियो बनाएका सिंहले तस्करी गतिविधिलाई संरक्षण दिएको दाबी स्रोतको छ।
प्रहरी संगठनभित्रबाटै अवैध गतिविधिलाई संरक्षण हुने हो भने सीमावर्ती क्षेत्रमा सुशासन र सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने स्थानीयहरूले बताएका छन्।
पर्सा प्रहरीका प्रमुख एसपी सुदीप पाठकले यसअघि नै तस्करी, अवैध कारोबार तथा राजस्व चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने बताउँदै आएपनि वडा प्रहरी कार्यालय विर्ता, मातहतका प्रहरी युनिट क्षेत्रबाट भैरहेको तस्करीबारे जिल्ला प्रहरी कार्यालय जानकार छन् वा छैनन्? भनेर जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा आफू व्यस्त रहेकोले अर्कै नम्बरमा सम्पर्क गर्न भने। तर अर्को नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन।















