२०८३ जेष्ठ १५ गते, शुक्रबार २०:२८

पत्रकार महासंघमा तालाबन्दी: महासंघ पर्साको चेतावनी

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा तथा कानुनी अधिकारमाथि निरन्तर हस्तक्षेप भए आवश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनी दिएको छ ।

महासंघ पर्साले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै “सदस्यता शुद्धीकरण संघर्ष समिति”को नाममा शाखा कार्यालयमा गरिएको तालाबन्दी र त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा महासंघ कुनै व्यक्ति वा समूह विशेषको संस्था नभई सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गर्दै यस्ता गतिविधिले पत्रकारिताको विश्वसनीयता, विश्वास र संस्थागत मर्यादामाथि गम्भीर चोट पुगेको जनाइएको छ ।

महासंघले सदस्यता शुद्धीकरण प्रक्रियामा आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै शुद्धीकरण विधि, विधान र सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राखेको छ ।

शाखाका अनुसार तत्कालीन अध्यक्ष अनुप तिवारीलाई जेठ ७ गते नै निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाबलगायत आवश्यक कागजात बुझाउन औपचारिक पत्राचार गरिएको थियो । तर कागजात उपलब्ध गराएर प्रक्रिया सहज बनाउनुपर्ने अवस्थामा कार्यालयमै तालाबन्दी गरिएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।

विज्ञप्तिमा वर्तमान कार्यसमितिलाई हस्तान्तरण गर्नुपर्ने निर्णय पुस्तिका, आर्थिक विवरण र अन्य अभिलेख हालसम्म नबुझाइनु गम्भीर विषय भएको उल्लेख छ । पटक–पटक आग्रह गर्दा पनि विभिन्न बहाना बनाइएको तथा साधारणसभाको तयारी प्रभावित पार्ने गतिविधि भएको महासंघको आरोप छ ।

महासंघ पर्साले सम्पूर्ण अभिलेख तत्काल बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा कार्यालयमा लगाइएको ताला तत्काल खोल्न आग्रह गरेको छ । साथै संवाद र सहकार्यप्रति आफूहरू सदैव सकारात्मक रहे पनि संस्थाको गरिमामाथि प्रहार जारी रहे कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM