२०८३ जेष्ठ १५ गते, शुक्रबार २०:१८

काठमाडौंको स्यूचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गरिने

काठमाडौं । सरकारले सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्दै काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटर सेन्टर स्थापना गर्ने भएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। नेपाललाई एआईको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको बताउँदै अर्थमन्त्री डा. वाग्लेले यस सेन्टरका लागि हजारौँ एआई प्रोसेसिङ युनिटहरू खरिद गरी स्वदेशी एआई उद्यमी र स्टार्टअपहरूलाई सहुलियतपूर्ण रूपमा कम्प्युटर क्षमता उपलब्ध गराइने जानकारी दिए।

बजेटमार्फत सरकारले नेपाल टेलिकमको सेयर संरचनामा पनि ठूलो फेरबदलको घोषणा गरेको छ। नयाँ व्यवस्था अनुसार नेपाल टेलिकममा नेपाल सरकारको ६६ प्रतिशत सेयर मात्र कायम राखी बाँकी सेयर आगामी पुस मसान्तभित्र बिक्री गरिनेछ।

यसरी सेयर बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकमलाई नेपाललाई प्रविधि केन्द्र अर्थात् ‘टेक हब’ का रूपमा विकास गर्न उपयोग गरिने बजेटमा उल्लेख छ। वित्तीय प्रविधिलाई प्रवर्द्धन गर्न सरकारले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा रहने गरी ‘फिनटेक मार्केट प्लेस’ स्थापना गर्ने नीति समेत अघि सारेको छ।

यसैगरी सरकारी सेवालाई सस्तो र छरितो बनाउन नागरिक एपमा थप दर्जनौँ सरकारी सेवाहरू आबद्ध गरिने भएको छ भने सरकारी निकायहरूमा प्रयोग हुने सफ्टवेयर खरिद प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन अबदेखि एकीकृत व्यवस्थाबाट मात्र खरिद गर्ने प्रबन्ध मिलाइनेछ।

प्रविधि क्षेत्रको विकासका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध मिलाएको घोषणा गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालमा बसेर विदेशी दाता तथा कम्पनीका लागि काम गर्ने प्रणाली अर्थात् ‘रिमोट वर्क’ लाई आकर्षित गर्न स्पष्ट कानुनी व्यवस्था गरिने बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM