२०८३ जेष्ठ १४ गते, बिहीबार १०:१८

सर्पदंशबाट तीन वर्षीय बालकको मृत्यु, अस्पतालमा आफन्तको होहल्ला

सर्लाही/सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पले टोकेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय रविन्द्र गिरीका छोरा आदित्य गिरीलाई बुधबार साँझ करिब ६ः३० बजे आफ्नै घरको कौसीमा खेल्ने क्रममा सर्पले टोकेको थियो । सर्पदंशपछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै होहल्ला गरेका थिए ।

स्थिति तनावपूर्ण बन्न सक्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा २५ जनाको प्रहरी टोली अस्पतालमा खटिएको थियो । प्रहरीको सम्झाइ–बुझाइपछि अवस्था सामान्य बनेको बताइएको छ ।

प्रहरीका अनुसार राति करिब ९:५० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझिलिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM