२०८३ बैशाख २५ गते, शुक्रबार १३:३६

सूर्यमुखी तेलमा ठगीको आरोप, ओमकार आयलका सञ्चालक पक्राउ

काठमाडौं । ललितपुरको लेलेस्थित ‘ओमकार आयल इन्डस्ट्रिज’का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ‘छहारी’ र ‘ओमकार’ ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त उद्योगले उत्पादन गर्ने सूर्यमुखी तेलको प्याकेजिङमा उल्लेख गरिएभन्दा कम मात्रा राखेर बजारमा बिक्री भइरहेको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको उद्योगमा छापा मारेको थियो।

अनुसन्धानका क्रममा प्याकेटमा लेखिएको तौल र भित्र रहेको तेलको वास्तविक मात्रामा भिन्नता पाइएपछि प्रहरीले सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। छापा मार्ने क्रममा प्रहरीले उद्योगबाट बिक्रीका लागि तयार पारिएका ९०५ कार्टुन तेल समेत बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । पक्राउ परेका श्रेष्ठमाथि नापतौल तथा उपभोक्ता ठगी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM