वीरगंज। वीरगंज भेडियाहीका सञ्चारकर्मी मिथुन सर्राफमाथि सांघातिक आक्रमण गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य पाँच जना अझै फरार रहेका छन्।
गत कार्तिक १ गते आक्रमण गरी ज्यान मार्ने प्रयास भएको उक्त घटनामा प्रारम्भिक चरणमा प्रहरी अनुसन्धान सुस्त देखिएको भन्दै पीडितका बुवा रामबाबु साह सोनारले उच्च अदालत अस्थायी इजलास वीरगंजमा रिट निवेदन दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले २०८२ माघ १२ गते ‘रिट परमादेश’ जारी गर्दै संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।
अदालतको आदेशपछि सक्रिय बनेको प्रहरीले फरार अभियुक्तमध्ये एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो। यद्यपि घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरूमा सुमु प्रसाद सोनार (सन्तोष सर्राफ), उनका छोरा साहिल सर्राफ र दिवश सर्राफ, त्रिलोकी साह सोनार, निरन्जन साह सोनार (अजय सर्राफ, जिल्ला समन्वय समितिका प्रमुख) तथा ओमप्रकाश सर्राफ रहेका छन्।
स्रोतका अनुसार पक्राउ परेका साहिल सर्राफका बुबा सुमु प्रसाद सोनार भन्ने सन्तोष सर्राफ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक हुन्। उनीमाथि राजनीतिक पहुँचको आडमा ठेक्कापट्टा सम्बन्धी कामकाज गर्दै आएको आरोप समेत लागेको छ।
यस्तै वीरगंज महानगरपालिका-१५ स्थित हरिहर साह चम्पादेवी विद्यालयमा उपभोक्ता समिति मार्फत निर्माण भइरहेको भवनमा कमसल सामग्री प्रयोग गरिएको र विद्यालय व्यवस्थापन समितिलाई बेवास्ता गरिएको विषय समेत सार्वजनिक भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हृदयनारायण साह सोनारले उक्त विषयमा पत्रकार सम्मेलन गरी विरोध जनाएका थिए।
प्रहरीले फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ।
















