२०८३ बैशाख १८ गते, शुक्रबार ०५:१०

मधेश प्रदेशका विभिन्न जिल्लामा सक्रिय ३३ जना विचौलिया नियन्त्रणमा

जनकपुरधाम/मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयमा सेवा लिन आएका नागरिकलाई अनावश्यक झन्झटमा पार्दै आर्थिक शोषण गर्ने विचौलियाविरुद्ध प्रहरी सक्रिय बनेको छ। यस क्रममा हालसम्म ३३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम (मिडिया समन्वय शाखा) द्वारा जारी प्रेस विज्ञप्तिअनुसार सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्दै छिटो काम गराइदिने बहानामा अतिरिक्त रकम असुल्ने र सेवा प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पर्सा, रौतहट, सर्लाही, धनुषा तथा आसपासका जिल्लाका विभिन्न सरकारी कार्यालयहरूबाट विचौलियाको रूपमा सक्रिय रहेका व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक कार्यालय, मालपोत कार्यालय, ट्रायल सेन्टर लगायतका सेवा केन्द्र वरपर सक्रिय व्यक्तिहरू रहेका छन्।

पर्साको यातायात व्यवस्था कार्यालय वीरगंजबाट ४ जना, मालपोत कार्यालय वीरगंजबाट ३ जना, रौतहटको मालपोत कार्यालय गौरबाट ५ जना, चन्द्रपुर मालपोत कार्यालयबाट २ जना, सर्लाहीको मलंगवा ट्रायल सेन्टरबाट २ जना, मालपोत कार्यालय मलंगवाबाट १ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट ४ जना तथा महोत्तरीका विभिन्न कार्यालयबाट ४ जना गरी हालसम्म ३३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस किसिमका अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा नियन्त्रण कार्यलाई निरन्तरता दिएको पनि जनाएको छ।

आम नागरिकलाई सरकारी सेवा लिन जाँदा कुनै पनि विचौलियाको प्रभावमा नपर्न र यस्ता गतिविधि देखेमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ। कानुनविपरीतका यस्ता कार्यमा संलग्न जो-कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM