२०८३ बैशाख १३ गते, आईतवार ०५:०९

सेवाग्राही ठगेको अभियोगमा रौतहटमा चार जना बिचौलिया पक्राउ

राधेश्याम साह/

रौतहट/मालपोत कार्यालय रौतहटमा सेवाग्राहीलाई दुःख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने ४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जग्गा पास वा विक्री सहित विभिन्न काम गराउन उक्त कार्यालयमा आउने सेवाग्राहीलाई “छिटो काम गराइदिन्छु” भन्दै प्रलोभन देखाएर रकम असुल्ने कार्यमा संलग्न बिचौलियाहरूलाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

लामो समयदेखि मालपोत कार्यालय तथा वरिपरि सक्रिय यी व्यक्तिहरूले सर्वसाधारणलाई दुःख दिँदै आएको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । घटनाले मालपोत कार्यालयमा फैलिएको बिचौलिया समस्यामाथि नियन्त्रण गर्न प्रहरीको कडा कदमबाट विचौलियामा हडकम्प मचेका छन् ।

स्थानीयहरु यस्तो कार्यले सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरेको छ, भने यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाहीको मांग समेत उठेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM