२०८३ असार ८ गते, सोमबार १५:४२

प्रभावमा होइन, कानूनमा चल्छ पर्सा प्रहरी : एसपी पाठक

वीरगंज/जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकले शान्ति सुरक्षा कायम गर्ने सवालमा पर्सा प्रहरी कुनै पनि प्रकारको राजनीतिक, सामाजिक वा अन्य बाह्य दबावमा नपर्ने बताउनु भएको छ। “हामी कसैको प्रभावमा होइन, कानूनको दायराभित्र रहेर काम गर्छौं,” उनले भने, “अपराध नियन्त्रण र नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन।”

चन्द्रसूर्य वाणीसँग संक्षिप्त कुराकानी गर्दै एसपी पाठकले महिला, बालबालिकालगायत कुनै पनि नागरिकमाथि हुने अन्यायप्रति प्रहरी शून्य सहनशीलताका साथ सक्रिय रहेको बताए। उनले आफूले नेतृत्व गरेको पर्सा प्रहरीमा कुनै समूह वा शक्तिको दबाव नचल्ने प्रष्ट पार्दै कानूनको निष्पक्ष कार्यान्वयन नै प्राथमिकता रहेको उल्लेख गरे।

उनका अनुसार पर्सावासीलाई सुरक्षित वातावरणको अनुभूति गराउनु नै प्रहरीको पहिलो दायित्व हो। सोही अनुरूप प्रहरी संगठन निरन्तर सक्रिय, सजग र उत्तरदायी रूपमा परिचालित भइरहेको उनले बताए। पछिल्लो समय जिल्लामा देखिएका आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष योजना लागू गरिएको, निगरानी बढाइएको र शंकास्पद गतिविधिमाथि कडाइ गरिएको जानकारी उनले दिए।

एसपी पाठकले कानूनभन्दा माथि कोही पनि नरहेको दोहोर्याउँदै अपराधमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरे। “हामीलाई कसैले निर्देशित गर्न सक्दैन, हाम्रो मार्गदर्शन भनेकै कानून हो,” उनले जोड दिए।

प्रहरी-नागरिक सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सूचना आदान-प्रदान र समुदायस्तरको सहयोग बिना अपराध नियन्त्रण सम्भव नहुने बताए। नागरिकलाई शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै उनले सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सधैं प्रतिबद्ध रहेको बताए।

आफ्नो कार्यकालमा फरार अभियुक्त, लागू औषध कारोबारीलगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएको उल्लेख गर्दै एसपी पाठकले चेतावनी शैलीमा भने, “पर्सामा कानूनविपरीत काम गरेर उम्किन्छु भन्ने सोच कसैले नराखे हुन्छ।”

उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै किसिमको कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै निष्पक्ष, पारदर्शी र प्रभावकारी सेवा प्रवाहमा प्रहरी अझ सशक्त रूपमा केन्द्रित रहने बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM