२०८३ बैशाख १३ गते, आईतवार ०८:१५

‘एकद्वार प्रणाली’ लागु गर्दै पर्सा प्रशासन, सेवाग्राहीको झन्झट घटाउने तयारी

वीरगंज/जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सर्वसाधारणले भोग्दै आएको ढिलासुस्ती र झन्झट अन्त्य गर्ने उद्देश्यसहित सुधारको पहल सुरु गरिएको छ। जनप्रतिनिधिको सक्रिय चासोसँगै प्रशासनले सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने तयारी अघि बढाएको हो।

प्रतिनिधिसभा सदस्य हरि पन्त र सुशील साहले हालै प्रशासन कार्यालयको अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। अनुगमनका क्रममा उहाँहरूले सेवा लिन आएका नागरिकसँग संवाद गर्दा एउटै कामका लागि पनि विभिन्न कोठा धाउनुपर्ने, साना काममा पनि लामो समय कुर्नुपर्ने र प्रक्रिया जटिल रहेको गुनासो व्यापक रूपमा आएको थियो।

यही अवस्थालाई सुधार गर्ने उद्देश्यले सांसदद्वयले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफल गर्दै तत्काल सुधारका उपायबारे ध्यानाकर्षण गराउनुभएको थियो। छलफलका क्रममा प्रजिअ दाहालले कार्यालयको कार्यसम्पादनलाई चुस्त बनाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त प्रणाली लागू भएपछि सेवाग्राहीले एउटै स्थानबाट आवश्यक सेवा लिन सक्ने व्यवस्था मिलाइनेछ, जसले अनावश्यक झन्झट, समयको दुरुपयोग र बिचौलियाको प्रभावलाई न्यून गर्ने विश्वास गरिएको छ।

अनुगमनपछि सांसदद्वयले सरकारी सेवा प्रवाहमा सुधार अपरिहार्य भएको उल्लेख गर्दै नागरिकले सम्मानजनक र सहज ढंगले सेवा पाउनु नै लोकतान्त्रिक शासनको मूल मर्म भएको प्रतिक्रिया दिनुभयो। प्रशासनले अघि सारेको सुधारात्मक पहल प्रभावकारी रूपमा कार्यान्वयन भएमा पर्सावासीले निकट भविष्यमै झन्झटमुक्त सेवा अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM