वीरगंज/पर्सा प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जना भारतीय मुस्लिम युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रुहरूमाथि शंका लागेपछि रोकी खानतलासी गर्दा उनीहरूले शरीरको पेट तथा छातीमा रातो प्लास्टिकभित्र निलो टेपले बेरी लुकाएर ल्याएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य, बेतिया थाना अन्तर्गतका ३१ वर्षीय जाबेद अन्सारी, २४ वर्षीय महमद रजिस र २८ वर्षीय महमद गरिब रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट गाँजा जस्तो देखिने पदार्थ करिब ७ केजी ६ सय १२ ग्राम बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले सीमा नाकाहरूमा चेकजाँच कडाइ गरी अपराधिक गतिविधि एवं अवैध ओसार पसार निस्तेज गर्न पर्सा प्रहरी कटिबद्ध रहेको बताए।
















