काठमाडौं । काठमाडौं महानगरपालिकामा विभागीय कार्यसम्पादनको अवस्थालाई नजिकबाट मूल्यांकन गर्ने उद्देश्यसहित कार्यवाहक प्रमुख सुनिता डंगोलले अनुगमन अभियान सुरु गरेकी छन्। मंगलबारदेखि सूचना प्रविधि विभागबाट सुरु गरिएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेत सहभागी रहेका छन्।
अनुगमनका क्रममा विभागमा कार्यरत कर्मचारीहरूको दैनिक कार्यप्रवाह, जिम्मेवारीको प्रकृति, कार्यभारको अवस्था, सेवा प्रवाहको प्रक्रिया तथा कार्यस्थलमा भोग्नुपरेका समस्या र चुनौतीबारे जानकारी लिइएको थियो। यससँगै ती चुनौतीहरूको समाधानका लागि अपनाइएका उपायबारे पनि चासो दिइएको महानगरले जनाएको छ।
सूचना प्रविधिसँग सम्बन्धित सेवाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा रहेका विभिन्न विद्युतीय प्रणाली, तिनबाट उत्पादन भएका तथ्याङ्क, तथ्याङ्क विश्लेषणको विधि, भण्डारण क्षमता तथा सार्वजनिक जानकारीको स्वचालित प्रवाहबारे कार्यवाहक प्रमुख डंगोलले विवरण माग गरेकी थिइन्।
सो अवसरमा विभागीय प्रमुख अनिरुद्र नेपालले हाल सञ्चालनमा रहेका प्रणालीहरूको एकीकरण, डाटा सेन्टर स्थापना तथा व्यवस्थापन, विद्यालयमा ई–हाजिरी प्रणाली कार्यान्वयन, सिसिटिभी जडान, ई–सिफारिस र ई–टिप्पणी प्रणालीलाई थप प्रभावकारी बनाउने योजना प्राथमिकतामा रहेको जानकारी गराइन्।
महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन प्रणाली कार्यान्वयनको चरणमा रहेको र घर नम्बरिङ सम्बन्धी कार्य आगामी करिब एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको उल्लेख गरिन्।
सूचना प्रविधि अधिकृत माधव खनालले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा भइरहेका गतिविधिबारे जानकारी गराउँदै प्रणाली सुधार र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने प्रयास जारी रहेको बताए।














