२०८३ बैशाख १३ गते, आईतवार २३:४६

“डर होइन, भरोसाको पहरेदार बनौं” सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सुरक्षाकर्मीलाई नागरिकमा डर होइन, भरोसा जगाउने व्यवहार अपनाउन निर्देशन दिएका छन्।

पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आईजीपी अर्यालले सुरक्षाकर्मीको कार्यशैली र व्यवहारमै परिवर्तन आवश्यक रहेको बताए। उनले भने, “सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसाको अनुभूति हुनुपर्छ। हामीले यही सिद्धान्तलाई आत्मसात् गरेर काम गर्नुपर्छ।”

आईजीपी अर्यालले उपत्यकाको सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै यस्तो अवस्थामा खटिने सुरक्षाकर्मी अझ जिम्मेवार, संयमित र व्यावसायिक हुनुपर्नेमा जोड दिए। राजनीतिक गतिविधि, भीडभाड, वीआईपी तथा भीभीआईपीको आवागमनलगायत कारण काठमाडौं उपत्यका संवेदनशील क्षेत्रका रूपमा रहेको उनले बताए।

उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम राख्न पशुपतिनाथ बाहिनीले खेलेको भूमिकाको प्रशंसा गर्दै नागरिकलाई सुरक्षित अनुभूति दिलाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिए। “निर्वाचनका बेला शान्तिपूर्ण वातावरण कायम राख्न तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनमा यस बाहिनीले उल्लेखनीय काम गरेको छ,” उनले भने।

महत्त्वपूर्ण सरकारी तथा निजी संरचनाको सुरक्षा, आकस्मिक अवस्थाको व्यवस्थापन तथा बन्द–हड्तालका बेला जनजीवन सहज बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले परिणाममुखी काममा जोड दिए। “हामीले गर्ने कामको प्रभाव नागरिकले महसुस गर्नुपर्छ,” उनले भने।

आईजीपी अर्यालले सुरक्षाकर्मीलाई केवल आदेश पालना गर्ने सीमामा नराखी परिस्थितिअनुसार निर्णय गर्न सक्ने क्षमता विकास गर्न पनि आग्रह गरे। आधुनिक सुरक्षा चुनौतीसँग जुध्न प्रविधिको प्रयोग, नियमित तालिम र व्यवहारिक दक्षता अपरिहार्य रहेको उनले बताए।

कार्यक्रममा उनले पशुपतिनाथ बाहिनी मुख्यालयको कार्यसम्पादनप्रति सन्तुष्टि व्यक्त गर्दै सम्पूर्ण टोलीलाई बधाई दिएका थिए। आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक स्रोतसाधन, तालिम र व्यवस्थापनमा ध्यान दिइने उनले जानकारी दिए। साथै सुरक्षाकर्मीको मनोबल उच्च राख्न नेतृत्व तह प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM