२०८३ बैशाख २१ गते, सोमबार ०४:४३

प्रहरीको सहयोगमा सीमाबाट तस्करी

कैलाली/सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका धनगढी यतिबेला सामान्य सीमाक्षेत्रजस्तो देखिए पनि भित्रभित्रै संगठित तस्करीको जालो फैलिँदै गएको संकेतहरू देखिन थालेका छन्। खुला सीमाको सहजताको दुरुपयोग गर्दै दैनिक लाखौँ रुपैयाँ बराबरका विभिन्न सामान अवैध रूपमा भित्रिने क्रम तीव्र बनेको छ।

धनगढी उपमहानगरपालिका-२ अन्तर्गत त्रिनगर नाका आसपासका शान्तिनगर, जुगेडा, घुईयाघाँट र बंगरा कटान क्षेत्र अहिले तस्करीका मुख्य ट्रान्जिट बिन्दुका रूपमा चिनिन थालेका छन्। स्थानीयका अनुसार भारतीय बजारबाट कपडा, इलेक्ट्रोनिक्स, हार्डवेयर सामग्री, सुर्तीजन्य वस्तु तथा दैनिक उपभोग्य सामानहरू भन्सार छली गरी नियमित रूपमा नेपाल भित्र्याइन्छ।

“दिनमा सानो-सानो परिमाणमा र राति ठूलो खेपमा सामान भित्रिन्छ,” एक स्थानीयले भने, “यो क्रम अब सामान्यजस्तै भइसकेको छ।”

तस्करीको स्वरूपमा आएको परिवर्तन झन् चासोको विषय बनेको छ। पछिल्लो समय महिलाहरूलाई ‘क्यारियर’ का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। उनीहरू सानो परिमाणमा सामान बोकेर, साइकल प्रयोग गरेर वा मोहना नदी पार गर्दै नेपाल भित्र्याउने काममा संलग्न हुने गरेका छन्। स्रोतहरूका अनुसार यसरी साना भागमा विभाजन गरेर गरिने तस्करी सुरक्षाकर्मीको निगरानीबाट सजिलै उम्किने रणनीतिका रूपमा प्रयोग भइरहेको छ।

स्थानीय बासिन्दाहरू तस्करी खुला रूपमा भइरहे पनि नियन्त्रणकारी निकाय प्रभावकारी हुन नसकेको आरोप लगाउँछन्। “कहाँबाट सामान आउँछ, कसले ल्याउँछ, सबै थाहा हुन्छ,” अर्का स्थानीयले भने, “तर निगरानी गर्ने निकाय नै मौन देखिन्छ।”

सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि तस्करी रोकथाम प्रभावकारी नदेखिनुले प्रश्नहरू उब्जाएको छ। स्थानीय तहमा सुरक्षाकर्मी र तस्करबीच ‘सेटिङ’ हुने गरेको आरोप समेत सुनिन्छ। स्रोतका अनुसार तस्करहरूले केही सुरक्षाकर्मीलाई नियमित रूपमा रकम बुझाउने गरेको दाबी गरिएको छ, जसका कारण तस्करी निर्बाध चलिरहेको आरोप छ।

विशेषगरी रातिको समयमा तस्करी बढी हुने गरेको स्थानीयको भनाइ छ। अँध्यारोको फाइदा उठाउँदै ठूलो परिमाणमा सामान भित्र्याइन्छ र त्यसपछि स्थानीय बजारहरूमा वितरण गरिन्छ। मोहना नदी तस्करहरूको प्रमुख ‘रुट’ बनेको छ, जहाँबाट डुंगा वा साइकलमार्फत सामान ओसारपसार हुने गरेको बताइन्छ।

कैलालीका खक्रौला, चौगुर्दी, अर्नवा, कालाकुण्डा, मरियाघाट, कौवाखेडाघाट र गुलरीयाघाट क्षेत्रसमेत अहिले तस्करीका सक्रिय नाकाका रूपमा देखिएका छन्। यी अधिकांश क्षेत्र नदीसँग जोडिएकाले निगरानी चुनौतीपूर्ण बन्दै गएको छ।

सीमापार भारतीय बजारका केही व्यापारीहरूसँग नेपाली तस्कर समूहको समन्वय रहेको आशंका गरिएको छ। सीमासम्म सामान पु¥याउने र त्यसपछि नेपाली समूहमार्फत भित्र्याउने ‘क्रस-बोर्डर नेटवर्क’ सक्रिय रहेको स्रोतहरूको दाबी छ।

यसरी भित्र्याइएका सामानहरू टीकापुर, लम्की, बौनियाँ, सुखड, जोशीपुर, भजनी, पहलवानपुर र सत्ती बजारसम्म पुग्ने गरेका छन्। त्यहाँका व्यापारीहरूले सस्तोमा खरिद गरी बजारमा बिक्री गर्ने हुँदा वैधानिक रूपमा कर तिरेर व्यापार गर्ने व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्।

दैनिक तस्करीका कारण राज्यले ठूलो मात्रामा राजश्व गुमाइरहेको अनुमान गरिएको छ। त्रिनगर भन्सार कार्यालय मातहतमा समय-समयमा सामान बरामद भए पनि स्थानीयहरू यसलाई वास्तविक तस्करीको सानो अंश मात्र मान्छन्।

तस्करी नियन्त्रणका लागि स्थापना गरिएको खक्रौला मूल भन्सार कार्यालयबाट अपेक्षित प्रभाव देखिन नसक्नुले व्यवस्थापन पक्षमै कमजोरी रहेको संकेत गर्छ। बेरोजगारी, गरिबी र सजिलो आम्दानीको लोभले सीमावर्ती क्षेत्रका स्थानीयहरू, विशेषगरी महिलाहरू, यसमा संलग्न हुने गरेको देखिन्छ।

यता सुरक्षा निकायले भने निगरानी कडा पारिएको दाबी गर्दै आएका छन्। तर स्थानीय स्तरमा भने तस्करी नियन्त्रण प्रभावकारी नभएको धारणा बलियो छ।

धनगढी क्षेत्रको यो अवस्था कानुनी चुनौती मात्र होइन, आर्थिक र सामाजिक प्रभावसँग गाँसिएको जटिल समस्या बन्दै गएको छ। नियन्त्रणका लागि पारदर्शी निगरानी, कडा कार्यान्वयन र वैकल्पिक रोजगारीका उपाय अवलम्बन नगरे स्थिति झन् गम्भीर बन्ने संकेत देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM