२०८३ बैशाख २१ गते, सोमबार १५:३४

सन्तुलन बिना स्थायित्व सम्भव छैन

राजनीति मूलतः शक्ति-सन्तुलनको कला हो। जहाँ सन्तुलन हुन्छ, त्यहाँ स्थिरता सम्भव हुन्छ। जहाँ असन्तुलन हुन्छ त्यहाँ द्वन्द्व, अस्थिरता र अविश्वास जन्मिनु स्वाभाविक हुन्छ। यही कारणले इतिहासले देखाएको सत्य के हो भने कुनै पनि राज्यको दीर्घकालीन स्थायित्व केवल संवैधानिक संरचना वा शासन प्रणालीबाट मात्र निर्धारित हुँदैन, बरु शक्ति सन्तुलनलाई कति विवेकपूर्ण ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराले त्यसको भविष्य निर्धारण गर्छ।

नेपालको पछिल्लो दुई दशकको राजनीतिक यात्रा यही दृष्टिले हेर्दा गम्भीर पुनर्विचार योग्य देखिन्छ। गणतन्त्र स्थापना भएपछि राज्यको संरचना परिवर्तन भयो, तर राजनीतिक प्रणालीलाई स्थायित्व दिने मूल तत्व आन्तरिक र बाह्य शक्ति सन्तुलन-उतनी गम्भीरतापूर्वक व्यवस्थापन हुन सकेन। परिणामतः शासन प्रणाली परिवर्तन भए पनि अस्थिरताको चक्र भने लगभग उस्तै रहिरह्यो।

गणतन्त्रको मूल मर्म लोकतान्त्रिक प्रतिनिधित्व, संस्थागत सन्तुलन र उत्तरदायित्वपूर्ण शासन हो। तर नेपालमा यसको अभ्यास प्रायः दलगत शक्ति संघर्षको दायराभित्र सीमित रह्यो। राजनीतिक दलहरूले राज्यलाई दीर्घकालीन संस्थागत संरचनाको रूपमा भन्दा पनि सत्ता प्राप्ति र संरक्षणको माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति देखियो। यसले लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउनेभन्दा पनि राजनीतिक प्रतिस्पर्धालाई अनिश्चित र अस्थिर बनाउने काम गर्यो।

यस अवस्थाले एउटा गम्भीर प्रश्न खडा गर्छ, के नेपालले आन्तरिक शक्ति सन्तुलन निर्माण गर्न सफल भयो? व्यवहारिक राजनीतिमा हेर्दा दलहरूबीचको प्रतिस्पर्धा स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाभन्दा बढी अविश्वास, गठबन्धनको अस्थायित्व र अवसरवादी समीकरणमा आधारित रह्यो। सरकार गठन र विघटन लगभग नियमित राजनीतिक चक्र जस्तै बन्न पुग्यो। जनमतबाट स्थापित सरकारहरू पनि दीर्घकालीन नीति र स्थायित्व दिन असफल देखिए।

यस सन्दर्भमा केही विश्लेषकहरूले नेपालमा विगतमा रहेको शक्ति संरचनाको एउटा स्तम्भ हटेको तर्क पनि प्रस्तुत गर्छन्। राजसंस्था समाप्त भएपछि राज्यको शक्ति संरचना पूर्ण रूपमा दलहरूको नियन्त्रणमा केन्द्रित भएको र त्यसले प्रणालीभित्र सन्तुलन कायम गर्ने वैकल्पिक संस्थागत संयन्त्र कमजोर बनाएको उनीहरूको धारणा छ। यही कारणले कहिलेकाहीँ राजतन्त्र पुनर्स्थापनाको बहस राजनीतिक विमर्शमा पुनः उठ्ने गरेको पनि देखिन्छ। यद्यपि यो बहस केवल भावनात्मक वा राजनीतिक नारा मात्र नभई राज्य संरचनाको सन्तुलनसँग जोडिएको बहसका रूपमा पनि प्रस्तुत हुँदै आएको छ।

नेपालको राजनीतिक स्थायित्वको अर्को महत्वपूर्ण आयाम बाह्य शक्ति सन्तुलन पनि हो। नेपाल भौगोलिक रूपमा दुई ठूला शक्तिहरू भारत र चीनबीच अवस्थित राष्ट्र हो। यसका साथै विश्व राजनीतिमा अमेरिका, रुस लगायतका शक्तिहरूको प्रभाव पनि दक्षिण एशियाली भू-राजनीतिमा निरन्तर सक्रिय छ। यस्तो परिस्थितिमा नेपालले आफ्नो विदेश नीति अत्यन्त सन्तुलित, व्यावहारिक र राष्ट्रिय हित केन्द्रित राख्नुपर्ने आवश्यकता सधैं रहन्छ।

तर विगतका अनुभवहरूले देखाएको कुरा के हो भने बाह्य सम्बन्धको व्यवस्थापन पनि कहिलेकाहीँ आन्तरिक राजनीतिक प्रतिस्पर्धाको उपकरण बन्न पुग्यो। कुनै सरकारमाथि कुनै शक्तिको निकटताको आरोप लाग्ने, अर्को सरकारमाथि अर्को शक्तिको प्रभावको चर्चा हुने जस्ता प्रवृत्तिले नेपालको विदेश नीतिलाई पनि विवादको विषय बनायो। यसले राज्यको दीर्घकालीन कूटनीतिक सन्तुलनलाई कमजोर बनाउने खतरा पैदा गरेको छ।

यही सन्दर्भमा यदि नयाँ राजनीतिक समीकरणहरू जसको चर्चा अहिले विभिन्न राजनीतिक वृत्तमा भइरहेका छन्-वास्तविकतामा रूपान्तरण हुने अवस्था आयो भने त्यसले एउटा महत्वपूर्ण पाठबाट सिक्नुपर्छ। सरकार केवल संख्यात्मक बहुमतले मात्र स्थिर हुँदैन, त्यसका लागि राजनीतिक, सामाजिक र कूटनीतिक सन्तुलनको सूक्ष्म व्यवस्थापन आवश्यक हुन्छ। कुनै पनि सरकारमाथि बाह्य शक्ति विशेषको प्रभावको आरोप लाग्ने परिस्थिति सिर्जना भयो भने त्यसले सुरुदेखि नै अविश्वासको वातावरण बनाउने जोखिम रहन्छ।

यसकारण सम्भावित नयाँ राजनीतिक नेतृत्व वा गठबन्धनले राज्य सञ्चालनलाई केवल सत्ता साझेदारीको गणितमा सीमित राख्नु हुँदैन। राष्ट्रिय हित, क्षेत्रीय सन्तुलन, वैचारिक विविधता र कूटनीतिक समन्वयलाई ध्यानमा राख्दै व्यापक सहभागितामा आधारित शासन संरचना निर्माण गर्नुपर्ने आवश्यकता हुन्छ। भारत, चीन, अमेरिका, रुस लगायत सबैसँग सन्तुलित सम्बन्ध कायम राख्ने राष्ट्रिय सहमति नेपालको कूटनीतिक स्थायित्वका लागि अत्यन्त आवश्यक छ।

राजनीतिक स्थायित्व अन्ततः सन्तुलनबाटै जन्मिन्छ। सन्तुलन बिना न त सत्ता स्थिर रहन्छ, न त प्रणाली टिकाउ हुन्छ। नेपालको पछिल्लो इतिहासले यही पाठ बारम्बार स्मरण गराएको छ। त्यसैले भविष्यको राजनीति निर्माण गर्दा शक्ति सन्तुलनलाई केवल सैद्धान्तिक बहसका रूपमा होइन, राज्य सञ्चालनको अनिवार्य सिद्धान्तका रूपमा स्वीकार गर्नुपर्ने समय आएको छ। यदि यस सत्यलाई समयमै बुझ्न सकिएन भने सत्ता परिवर्तनहरू भइरहनेछन्, तर स्थायित्व भने सधैं टाढाको लक्ष्य नै रहिरहनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM