वीरगंज/आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने उद्देश्यले नेपाली सेनाले वीरगंजमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जना व्यक्तिलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको छ।
मध्यराती करिब २ बजेतिर श्रीजंग गण, वीरगंजको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले वीरगंज महानगरपालिका-१६, इनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरेको थियो। सोही क्रममा धार्मिक सद्भाव भड्काउने आशंकासहित तीन जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा वीरगंज-१६ निवासी कृष्ण यादव, सोही वडाका रोहित पटेल र अविजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रङको तार तथा ५ वटा सुँगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनको समयमा कुनै पनि प्रकारका साम्प्रदायिक तथा अराजक गतिविधि हुन नदिन नेपाली सेना पूर्ण रूपमा सतर्क रहेको उनले बताए। सुरक्षा निकायका अनुसार बरामद सामग्रीहरूले धार्मिक सद्भाव बिगार्ने तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने सम्बन्धित अभियोग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको जनाइएको छ। -जलेश्वर सर्राफ
















