वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा संलग्न नभएका व्यक्तिलाई प्रहरीले पूर्वाग्रह राख्दै नियन्त्रणमा लिएको पीडित पक्षले आरोप लगाएका छन्।
पीडित परिवारका अनुसार न्यु दुर्गा ट्रान्सपोर्टका म्यानेजर प्रितम तिवारी (चौधरी)लाई पर्सा प्रहरीले वडा नं. १० स्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। चौधरी झडपमा संलग्न नभएको दाबी गर्दै उनकी श्रीमती पिंकीले “घटनामा संलग्न नभएका व्यक्तिलाई पक्राउ गर्नु अन्यायपूर्ण कदम हो” भनी आपत्ति जनाएकी छन्।
परिवारका अनुसार फागुन २ गते घरमा हनुमान आराधना पूजा राखिएको छ। उक्त पूजाको तयारीका लागि छुट्टी लिएर घरमै बसेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ। “सामाजिक सञ्जालमा वास्तविक संलग्न व्यक्तिहरूको भिडियो झ्यापछ्याप्ती भइरहेको अवस्थामा निर्दोषलाई समात्नु उचित होइन,” परिवार स्रोतले जनाएको छ।
यसैबीच, घटनामा संलग्न रहेको आरोपमा शिवचन्द्र साह र प्रभु साहलाई समेत गैरकानुनी रूपमा हिरासतमा राखिएको आरोप परिवारजनले लगाएका छन्। उनीहरूलाई ‘काम देखाउने’ शैलीमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ।
घटनाबारे पर्सा प्रहरीसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत सम्पर्कमा आएनन्।
ट्रान्सपोर्ट एरियामा भएको झडपपछि पनि सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीको प्रयास देखिएको छैन।















