काठमाडौं/सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आगामी माघ २० गतेपछि मात्रै सुनुवाइ अघि बढाउने भएको छ ।
सर्वोच्च अदालतले आजका लागि तोकिएको पेशीमा रिट निवेदकलाई साधारण तारिख दिँदै आउँदो माघ २० गतेका लागि मुद्दा राखेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् विघटनसम्बन्धी मुद्दामा अब माघ २० गतेपछि मात्र सुनुवाइ हुने जानकारी दिए ।
उनका अनुसार आउँदो फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन रोक्न माग गर्दै पूरक निवेदन दर्ता भएकाले पहिले निर्वाचनसम्बन्धी विषयमा सुनुवाइ भएपछि मात्रै संसद् विघटनसम्बन्धी मुद्दामा प्रवेश गरिने भएको हो ।
नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न दलका निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसका अतिरिक्त कानुन व्यवसायी लगायत विभिन्न पक्षबाट १६ वटा छुट्टाछुट्टै रिट पनि दर्ता भएका छन् ।
रिट निवेदकहरूले निर्वाचन प्रक्रिया रोक्न समेत माग गरेका छन् । यी सबै रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग, प्रतिनिधिसभा संसद् सचिवालयलगायतले लिखित जवाफ पेस गरिसकेका छन् ।















