२०८३ बैशाख १५ गते, मंगलवार २१:३९

नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा

काठमाडौं/अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले नेपालसहित ७५ देशहरूको लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेपछि अमेरिका प्रवेश गर्ने कानुनी मार्गहरू थप प्रतिबन्धित हुने भएका छन्।

ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यस्तो कदम चालेको जनाएको छ। बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अमेरिकामा अवैध र कानुनी दुवै प्रकारका आप्रवासनलाई सीमित गर्न खोजेका छन् र उनको प्रशासनले ब्राजिल, इरान, रुस र सोमालियाका मानिसहरूको लागि आप्रवासी भिसा प्रक्रिया पहिले नै रोकिसकेको छ।

आगामी जनवरी २१ देखि सुरु हुने यो स्थगन गैर-आप्रवासी भिसा (पर्यटक वा व्यापारिक भिसा) खोज्नेहरूका लागि भने लागू हुने छैन। जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्पले व्यापक आप्रवासन कारबाही जारी राखेका छन्। उनको प्रशासनले आप्रवासन कार्यान्वयनलाई आक्रामक रूपमा प्राथमिकता दिएको छ।

विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ। यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुन: मूल्याङ्कन गर्दैन।’

सबै अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई पठाइएको सूचनामा गैर-आप्रवासी भिसा आवेदकहरूले पनि अमेरिकामा सार्वजनिक सुविधाहरू खोज्न सक्ने सम्भावनाबारे जाँच गर्न निर्देशन दिइएको छ। पत्रमा भनिएको छ, ‘अमेरिकाभरि सार्वजनिक सुविधा कार्यक्रममा व्यापक ठगी भइरहेको खुलासा भएपछि ट्रम्प प्रशासन यस्ता कार्यक्रममा हुने ठगी रोक्न केन्द्रित छ।’

कुन-कुन देश परे ?

एक अमेरिकी अधिकारीका अनुसार निलम्बनबाट प्रभावित हुने देशहरूको सूचीमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कंगो, क्युबा, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, आइभरी कोस्ट, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, रूस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM