२०८३ बैशाख २२ गते, मंगलवार २१:५९

समाज सेवाको आवरणमा अफिमकोे धन्दा, अमेरिकी नागरिककोे लगानी भएको आशंका

वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–१ नकटुवाक्षेत्रमा प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट २ किलो २४ ग्राम लागूऔषध अफिम बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पर्साका तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय जौवाद अहमद, बहुदरमाई नगरपालिका–७ का ३८ वर्षीय निलेश पटेल कुर्मी र विन्दवासिनी गाउँपालिका–२ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

बिहीबार अपराह्न इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले पतञ्जलि क्षेत्रबाट नकटुवातर्फ जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको भारतीय कार रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारको पछाडिको सिटमाथि कालो प्लास्टिकमा प्याक गरी लुकाई–छिपाई राखिएको अफिम फेला परेपछि चालकसहित कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये जौवाद अहमद वीरगञ्जस्थित ‘होप अलाइभ च्यारिटी फाउन्डेसन’ नामक गैरसरकारी संस्थासँग आबद्ध रहेको खुलेको छ। लागूऔषध कारोबारबाट आर्जित अवैध रकम व्यवस्थापन गर्न उक्त संस्था खोलिएको हुन सक्ने प्रारम्भिक आशङ्का प्रहरीले गरेको छ। साथै, नियन्त्रणमा लिइएको गाडी पनि संस्थाको काममा प्रयोग हुँदै आएको प्रमाण फेला परेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सङ्गठित गिरोह बनाएर लागूऔषध कारोबार गर्दै आएको र गैरसरकारी संस्थालाई समेत सोही गिरोहको एक कडीका रूपमा प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ।

जौवादका दाजु जावेद अहमद अमेरिकी नागरिक भएको र केही वर्षअघि न्युयोर्कमा ड्रगसम्बन्धी कारोबारमा सजाय काटी हाल डालस, अमेरिका बस्ने गरेको तथा हाल नेपाल आएको र यो अफिम उनको पैसाले खरिद गरिएको दाबी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM