काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले संगठनको विकास र सुदृढीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता र अनुशासनका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले आगामी निर्वाचनको सुरक्षासम्बन्धी संवेदनशीलता, समसामयिक विषयवस्तु तथा प्रहरी गतिविधि र कामकाज सम्बन्धमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।
उनी भन्छन्, ‘सुरक्षा चुनौतीहरूको सामना गर्न प्रभावकारी रणनीति बनाएर कुनै पनि अपराध विरुद्ध कडा कदम चाल्नुपर्छ। प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरूपमा बहन गर्नुपर्छ।’
महानिरीक्षक कार्कीले पारदर्शी र बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्दै थप सक्रियताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। साथै, भिड नियन्त्रणका क्रममा बल प्रयोगको सिद्धान्त पालन गर्न र सवारी दुर्घटना न्यूनीकरणमा समेत सक्रिय हुन आवश्यक रहेको उल्लेख गरे।
उनी भन्छन्, ‘आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीतिहरू लागू गर्दै स्थानीय तह र सरोकारवाला पक्षसँग समन्वय गरी व्यावसायिक, उत्तरदायी र जबाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्छ। प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन र व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न थप सक्रिय रहनुपर्छ।’
















