वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केन्द्रीय तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा लागू गरिएको हो।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार आदेश जारी गर्दै निषेधित क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रको चार किल्ला पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट तोकिएको छ। तोकिएको क्षेत्र वीरगञ्जको अत्यन्तै व्यस्त तथा केन्द्रीय भागमा पर्दछ।
आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ।
पछिल्ला केही दिनयता वीरगञ्जमा सामाजिक तथा धार्मिक सद्भावमा असर पुग्न सक्ने गतिविधिहरू बढ्दै गएको सन्दर्भमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न निषेधाज्ञा आवश्यक परेको प्रशासनको अनुमान छ।
प्रशासनले सर्वसाधारण नागरिकलाई संयमित रहन, शान्ति कायम गर्न सहयोग पुर्याउन तथा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ। अवस्था सामान्य नहुँदासम्म निषेधाज्ञा कायमै रहने प्रशासनले जनाएको छ।

















